


दमौली, ९ साउन। नेपाल मगर संघका उपमहासचिव सिद्धान्त गर्जा मगरले घाँसी खड्कबहादुर ठाडा मगरको शालिक तोडफोड घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकार र प्रशासनसँग माग गरेका छन्।
उपमहासचिव मगरले शालिक तोडफोडको घटनालाई एक जातिमाथिको दमन, अन्याय तथा जातीय विभेदबाट प्रेरित संकुचित कार्यको संज्ञा दिएका छन्। उनले घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा नल्याइए मगर समुदाय भौतिक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।
यस्तै, नेपाल मगर संघ तनहुँका अध्यक्ष एचबी थापा लगायतको टोलीले शुक्रबार घटनास्थल पुगेर निरीक्षण गरेको जनाएको छ। टोलीले घटनाबारे आवश्यक जानकारी संकलन गर्नुका साथै दोषी पहिचान गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
मगर समुदायले घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कडा कारबाही तथा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ।