चुरेखोल्सी टोलमा विकाससँगै बढ्दो सामाजिक जोखिम र सुरक्षा चुनौतीसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    चुरेखोल्सी टोलमा विकाससँगै बढ्दो सामाजिक जोखिम र सुरक्षा चुनौतीसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

    खबरपुञ्ज संवाददाता

    ८ श्रावण २०८३, शनिबार

    दमौली, ९ साउन। मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजनाअन्तर्गत सामाजिक सचेतना तथा जीविकोपार्जन सहयोग कार्यक्रमअन्तर्गत एच.आई.भी. एड्स, मानव बेचबिखन तथा यौनजन्य दुर्व्यवहार रोकथामसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। सहयात्री समाज नेपाल (सिड्स नेपाल) को आयोजना तथा चुरेखल्सी टोल विकास संस्थाको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

    मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजनाअन्तर्गत ६ वटा पालिकाहरू समेटिएको यस राजमार्ग विस्तारका क्रममा हालसम्म करिब ७०० परिवारका घरहरू भत्किएका छन्। प्रभावितहरूको लगत संकलन गरी उनीहरूलाई ड्राइभिङ, ब्युटी पार्लरजस्ता सिपमुलक तालिममार्फत जीविकोपार्जनसँग जोडिने काम भइरहेको कार्यक्रममा जानकारी गराइएको छ।

    कार्यक्रममा एच.आई.भी. एड्स, मानव बेचबिखन र यौनजन्य दुर्व्यवहारलाई मुख्य विधाका रूपमा उठाइएको थियो। सन् २०३० सम्ममा एच.आई.भी. संक्रमण शून्यमा झार्ने लक्ष्य राखिएको र हाल नेपालमा ३४,००० को हाराहारीमा संक्रमितहरू रहेको तथ्यांक प्रस्तुत गरियो। एच.आई.भी. को हालसम्म पूर्ण उपचार नभएकाले सचेत हुनु, रोग लाग्नै नदिनु र बुझ्ने तथा बुझाउने नै यसको सबैभन्दा ठूलो औषधि रहेको वक्ताहरूले बताए।

    तथ्यांकअनुसार ८० देखि ८१ प्रतिशत संक्रमण असुरक्षित यौनसम्पर्कबाट र बाँकी २० देखि २२ प्रतिशत रगत परीक्षण, अप्रेसन तथा हजामकहाँ दाह्री–कपाल काट्दा प्रयोग हुने असुरक्षित औजारबाट सर्ने गरेको उल्लेख गरियो।

    सहयात्री समाज नेपाल (सिड्स नेपाल) की निवर्तमान अध्यक्ष गीता खनालले राजमार्ग नजिक पुल निर्माणका क्रममा विभिन्न जिल्लाबाट आएका कामदार तथा अपरिचित मानिसहरूको आवागमनले स्थानीय महिला र किशोरीहरूमाथि सुरक्षा जोखिम बढेको औंल्याइन् । जिस्काउने, छुने जस्ता सामान्य लाग्ने घटनाहरू पछि गम्भीर रूप लिने गरेको बताउँदै उहाँले धादिङमा पुल विस्तारका क्रममा ट्रिपर चालकबाट एक अविवाहित किशोरी गर्भवती भई पछि विभिन्न कानुनी तथा सामाजिक झमेला भोग्नुपरेको घटना स्मरण गराइन्।

    त्यस्तै, सडक आसपास काम गर्ने मजदुरहरूसँगको नजिकिँदो सम्पर्क र डिजिटल माध्यम (फेसबुक लगायत) को दुरुपयोगबाट हुने प्रलोभन तथा बलात्कारका घटनाहरूप्रति विशेष सतर्क रहन आग्रह गरियो। नेपालको कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका बालिकासँग सहमतिमै सम्बन्ध भए त्यसलाई बलात्कार नै मानिने कानुनी प्रावधानबारे समेत अवगत गराइयो। काठमाडौं–धादिङको सडक विस्तारका क्रममा एक इन्जिनियरबाट अल्पायुमै पीडित बनेकी बालिका र काकाबाटै यौन हिंसामा परेकी अर्की एक पीडित किशोरीको दर्दनाक कथा प्रस्तुत गर्दै, पीडितलाई नै लाञ्छना लगाउने समाजको दोहोरो मानसिकतामा परिवर्तन ल्याउनुपर्नेमा जोड दियो।

    मानव बेचबिखनको तौरतरिका फेरिए पनि जोखिम उस्तै रहेको बताउँदै एस.एल.सी. दिएर बसेकी एक आर्थिक रूपले विपन्न किशोरीलाई भाउजूले काठमाडौंमा काम र पढाइ मिलाइदिने प्रलोभनमा पारी भारतको एक बाबाको धाममा बलि दिने कुसंस्कारयुक्त स्थानमा पुर्‍याएको डरलाग्दो घटनाको पर्दाफास गरियो। नेपाल र भारतको सुरक्षा निकायको संयुक्त प्रयासमा उनको सकुशल उद्धार गरिएको र हाल उनी सहयात्री समाज नेपालको संरक्षणमा आफ्नो अध्ययन निरन्तर अगाडि बढाइरहेको जानकारी दिइयो।

    कार्यक्रममा व्यास-४ का वडा सदस्य सरोज भण्डारीले विकाससँगै आउने नकारात्मक असर र विनाशकारी प्रवृत्तिबाट बच्न सचेतनालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए।

    चुरेखल्सी टोल विकास संस्थाका अध्यक्ष हरिराज पौडेलले रोग लागिसकेर उपचार खोज्नुभन्दा लाग्नै नदिनु उत्तम हुने बताउँदै टोलमा अपरिचित व्यक्तिको आवागमनमा विशेष सतर्कता अपनाइएको र यस क्षेत्रलाई मेलमिलापयुक्त नमूना टोल बनाउन सबैको सकारात्मक प्रयास जारी रहेको धारणा व्यक्त गरे ।