


काठमाडौ, १६ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित विश्वको १२औँ अग्लो ८,०५१ मिटर उचाइको ब्रोड पिक हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली र चार विदेशी आरोहीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले आरोहण केवल शिखर चुम्ने यात्रा मात्र नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको उल्लेख गरेका छन् । उनले हिमालले धेरैलाई शिखरको गौरव दिलाउने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने भन्दै हिमाल आरोहीहरू आफ्नो साहस, समर्पण र योगदानका कारण इतिहासमा सदैव अमर रहने बताए ।
उनले निर्मल पुर्जालगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै समाप्त भएको तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणाको स्रोतका रूपमा जीवित रहने विश्वास व्यक्त गरे ।