


काठमाडौ, १९ साउन । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडक खण्डमा मंगलबार बिहान स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान करिब ७:३० बजे इमली बजारबाट गौशालतर्फ जाँदै गरेको बा १ क ६१२९ नम्बरको मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा गौशाला नगरपालिका–५ निवासी करिब ४० वर्षीय चालक विजय भुजेलसहित बसमा सवार ६ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको छ भने अन्य पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई उपचारका लागि बिके अस्पताल, गौशाला तथा स्थानीय मेडिकलमा पठाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।