


पोखरा, १९ साउन । गण्डकी प्रदेश सरकारले गाँजा खेती गर्न पाइने कानुन बनाएको छ।
‘औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेश सभाबाट पास भई प्रदेश प्रमुखले प्रमाणीकरणसमेत गरिसकेका छन्।
प्रदेश सभाले असार २५ गते पहिलो पटक यो विधेयक प्रदेश सभाबाट पारित गरेर असार ३० गते प्रदेश प्रमुखकहाँ प्रमाणीकरणका लागि पठाएको थियो।
तर प्रदेश प्रमुखले साउन ८ गते यो विधेयक पुनर्विचारका लागि पुन: प्रदेश सभामा फर्काएका थिए। साउन १५ गते प्रदेश सभाले उक्त विधेयक हुबहु पुन: पारित गरी प्रमाणीकरणका लागि प्रदेश प्रमुखकहाँ पठाएको थियो। साउन १८ गते प्रदेश प्रमुखले उक्त विधेयक प्रमाणीकरण गरेका हुन्।
गण्डकीमा नेपाली कांग्रेस संसदीय दल नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन्।