


स्याङ्जा, ८ भदौ । स्याङजा, गल्याङ नगरपालिका –०८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित १० जना घाइते भएका छन् ।
सोमबार साँझ करिब ५:४५ बजे गल्याङबाट गल्याङ नगरपालिका –०९ साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो जिप उकालो घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो ।
दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । उक्त दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको र चालकसहित १० जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
जिपमा कति जना सवार थिए भन्ने यकिन हुन बाँकी रहेको र घाइते तथा मृतकहरूको परिचय खुल्न बाँकी रहेको छ भने दुर्घटनाबारे थप अनुसन्धान समेत भइरहेको छ ।