विपत्तिको घडीमा सादगी अपनाउँदै सार्थक मिलन नेपालको तेस्रो साधारण सभा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विपत्तिको घडीमा सादगी अपनाउँदै सार्थक मिलन नेपालको तेस्रो साधारण सभा

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०८३, आईतवार

    तनहुँ, २१ भदौ । सार्थक मिलन नेपालले तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ। संस्थाले देश प्राकृतिक विपत्तिको पीडा्ा रहेको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै संस्थालाई पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउने उद्देश्यले सभा सादगीपूर्ण रूपमा सम्पन्न गरेको हो ।

    कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै संस्थाकी अध्यक्ष मिनल भुजेलले विपत्तिको संवेदनशील समयमा अनावश्यक तामझाम र खर्चभन्दा संस्थागत प्रक्रिया तथा जिम्मेवारीलाई प्राथमिकता दिँदै सभा सामान्य ढंगले सम्पन्न गरिएको बताएकी छन् । भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको पीडाबाट मुलुक अझै बाहिर निस्कन नसकेको भन्दै भुजेलले संवेदनशील समयमा हुने कुनै पनि कार्यक्रममा उत्सवको चमकभन्दा जिम्मेवारीको गम्भीरता देखिनु आवश्यक रहेको बताएकी छन् ।

    कार्यक्रममा प्रमुख अतिथि बन्दीपुर गाउँपालिकाकी अध्यक्ष पञ्चमाया गुरुङले सार्थक मिलन नेपालले छोटो समयमा पनि थुप्रै कामहरू गरेको भन्दै प्रशंसा व्यक्त गरेकी थिइन् । उनले साधारण सभा संस्थाका लागि केवल वर्षमा एकपटक गरिने औपचारिक कार्यक्रम मात्र नभई संस्थाले एक वर्षमा के गर्‍यो, कहाँ चुक्यो, उपलब्धि के रह्यो र अब कुन बाटोमा अघि बढ्ने भन्ने विषयमा आत्मसमीक्षा गर्ने अवसरसमेत रहेको बताइन् ।

    सार्थक’ कामका लागि ‘मिलन’को भावना बोकेको संस्था भएकाले विपत्तिको समयमा देखावटीभन्दा संवेदनशीलता महत्वपूर्ण हुन्छ भन्ने सन्देश पनि सभाको सादगीले दिएको गुरुङको भनाइ थियो ।

    कार्यक्रममा अधिवक्ता तथा नेपाल बार एसोसिएसन तनहुँकी अध्यक्ष एवं संस्थाकी सल्लाहकार सरिता भण्डारीले सामाजिक संस्थाहरूले समाजप्रतिको आफ्नो जिम्मेवारी निर्वाह गर्दा आफ्नै संस्थागत सुशासन र पारदर्शितालाई पनि उत्तिकै महत्व दिनुपर्ने बताइन् । प्राकृतिक विपत्तिले देश रोइरहेका बेला सम्पन्न साधारण सभाले संस्थाको शक्ति ठूलो कार्यक्रम गर्नमा होइन, आफ्नो उद्देश्यप्रति इमानदार रहनमा हुन्छ भन्ने सरल सन्देश दिएको बताइन् ।

    कार्यक्रममा संस्थाका सल्लाहकारहरू सुशीला शर्मा, नारायणी अधिकारी, अन्जना तिमल्सेना लगायतले सार्थक मिलन नेपालको तेस्रो साधारण सभा एउटा नियमित वार्षिक कार्यक्रम मात्र नभइ विपत्तिको संवेदनशील घडीमा सादगी, संस्थागत अनुशासन र पारदर्शितालाई प्राथमिकता दिने अभ्यासका रूपमा पनि स्थापित भएको बताएका थिए ।

    संस्थाकी उपाध्यक्ष उर्मिला पन्तले स्वागत गरेको उक्त साधारण सभाले संस्थाकी कोषाध्यक्ष मनु पन्त खत्री र सचिव उपाध्यक्ष पम्फादेवी श्रेष्ठको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ भने विपत् राहत कोष स्थापनासँगै विधानमा केही संशोधन समेत गर्ने निर्णय गरेको छ।