


दमौली, ३० साउन । जिल्ला प्रशासन कार्यालय तनहुँले सेवाग्राहीको सुविधा र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन नयाँ टोकन प्रणाली सञ्चालनमा ल्याउने भएको छ। कार्यालयका अनुसार साउन ३१ गते आइतबारदेखि स्क्रीनसहितको नयाँ टोकन प्रणालीमार्फत राष्ट्रिय परिचयपत्र सेवा प्रवाह हुनेछ।
नयाँ प्रणाली लागू भएपछि राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीले घण्टौँ लाइनमा बसेर आफ्नो पालो कुर्नुपर्ने छैन। सेवाग्राहीले टोकन लिएपछि आफ्नो पालो नआएसम्म सहज रूपमा पर्खन सक्ने व्यवस्था मिलाइएको छ।
टोकनमा रहेको क्युआर कोड स्क्यान गरी सेवाग्राहीले आफ्नो मोबाइलबाटै पालोको अवस्था हेर्न सक्नेछन्। आफ्नो टोकन नम्बरभन्दा अगाडि कति नम्बरको पालो गइसकेको छ र आफ्नो पालो आयो कि आएन भन्ने जानकारी मोबाइलबाटै हेर्न सकिने भएकाले सेवाग्राहीलाई कार्यालयमै लामो समय बसिरहनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।
नजिकै घर भएका सेवाग्राही घरमै बसेर तथा बजारमा रहेका सेवाग्राहीले खाजा खाँदै वा अन्य काम गर्दै आफ्नो पालोको अवस्था हेर्न सक्नेछन्। यसले कार्यालयमा हुने भीडभाड तथा सेवाग्राहीको समयको बचत हुने कार्यालयको विश्वास छ।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार भदौ १ गतेदेखि राष्ट्रिय परिचयपत्रसँगै राहदानी, नागरिकता र नागरिकताको प्रतिलिपि सेवासमेत टोकन प्रणालीमार्फत प्रवाह गरिनेछ।
जिल्ला प्रशासन कार्यालयका मुख्य सेवामध्ये राष्ट्रिय परिचयपत्र सेवा सार्वजनिक बिदाका दिनमा समेत सञ्चालन हुँदै आएको छ। सेवाग्राहीलाई सहज, व्यवस्थित र प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले टोकन प्रणाली लागू गरिएको उनले बताए ।
नयाँ प्रणालीसँगै सेवाग्राहीले लाइनमा बस्नुपर्ने समय घट्नुका साथै सेवा प्रवाहमा पारदर्शिता र व्यवस्थापनमा समेत सुधार आउने अपेक्षा गरिएको छ।