


तनहुँ ९ भदाै । अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसारमा संलग्न दुईवटा ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सोमबार प्रहरी चौकी सिसाघाटबाट खटिएको टोलीले व्यास नगरपालिका–५ आसामघारीमा चेकजाँच गर्ने क्रममा मादी नदीबाट अवैध रूपमा बालुवा लोड गरी आउँदै गरेका दुईवटा ट्र्याक्टर नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका दुवै ट्र्याक्टरलाई आवश्यक कारबाहीका लागि व्यास नगरपालिकाको कार्यालय पठाइएको थियो। नगरपालिकाले प्रत्येक ट्र्याक्टरलाई रु. १२ हजारका दरले जरिवाना गरेको छ। दुवै सवारीसाधनबाट गरी रु. २४ हजार जरिवाना असुल गरी छाडिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।