


जीवनप्रतिको एउटा धन्यवाद !
आज मेरो जन्मदिन, सर्बप्रथम मलाई जन्म दिनु हुने पिता मातामा प्रणाम, आज म केवल आफ्नो उमेर गन्न चाहन्नँ, म त ती वर्षहरू सम्झन चाहन्छु जसले मलाई उमेरभन्दा धेरैअनुभव दिए। समयले मेरो कपालमा केही सेता रेखा कोर्यो होला, अनुहारमा केही कथा थप्यो होला, तर ती रेखाहरू मेरा हार होइनन्— ती त मैले बाँचेका दिनहरूको मौन हस्ताक्षर हुन्। मैले जीवनलाई जति बुझ्न खोजेँ, त्यति नै महसुस गरेँ— जीवन बुझिने कुरा होइन रहेछ, बाँच्दै जाँदा खुल्दै जाने एउटा रहस्य रहेछ। कहिले लाग्यो, खसी भनेको आफूले चाहेको पाउनु होस पछि बुझें—खुसी त आफूले पाएको कुरालाई मनदेखि स्वीकार गर्न सक्नु रहेछ। कहिले लाग्यो, सफलता भनेको अरूभन्दा अगाडि हुनु होस आज लाग्छ—सफलता भनेको हिजोको आफूभन्दा आज अलिकति राम्रो हुनु रहेछ। कहिले मानिसहरूलाई आफ्नो अपेक्षाअनुसार बदल्न खोजें, तर समयले सिकायो— हरेक मानिस आफ्नो यात्राको आफ्नै अध्याय हो। कसैलाई बुझ्न सकिन्छ, कसैलाई माया गर्न सकिन्छ, तर सबैलाई आफ्नो इच्छाअनुसार बनाउन सकिँदैन। त्यसैले अब मसँग धेरै गुनासाहरू छैनन्। जसले साथ दिए— उनीहरूप्रति कृतज्ञ छु। जसले छोडेर गए—उनीहरूले पनि केही सिकाएर गए। जसले दुख दिए—उनीहरूले मेरो सहनशीलता चिनाए। र जसले माया गरे— उनीहरूले जीवन किन सुन्दर छ भन्ने सम्झाए। अब मलाई हरेक प्रश्नको उत्तर चाहिँदैन। केही प्रश्नहरू समयसँगै बाँच्नका लागि हुन्छन्, उत्तर खोज्नका लागि होइन।
म स्वीकार गर्छु—सबै कुरा मेरो नियन्त्रणमा छैन। समय, परिस्थिति, मानिसहरू, सम्बन्धहरू र भोलि— यी सबै आफ्नै गतिमा बग्छन्। मेरो हातमा छ त केवल—आज म कस्तो मानिस बन्नेरु त्यसैले आज म ठूलो सपना मात्र होइन, सफा मन पनि माग्छु। धरै सम्पत्ति मात्र होइन, सम्बन्धको न्यानोपन माग्छु। लामो जीवन मात्र होइन, अर्थपूर्ण जीवन माग्छु। मेरो परिवार— मेरो जीवनको त्यो अध्याय हो जहाँ कुनै उपलब्धिको अर्थ उनीहरूको मुस्कानभन्दा ठूलो छैन। उनीहरूका लागि म अझै धेरै जिम्मेवार बन्न चाहन्छु, उनीहरूको सुखमा मेरो सुख खोज्न चाहन्छु, र समयले जति साथ दिन्छ, त्यति समय उनीहरूसँग उपस्थित भएर बाँच्न चाहन्छु। किनकि अन्ततः मानिसले संसारलाई के जित्यो भन्ने कुरा भन्दा पनि उसले आफ्नो मानिसहरूको हृदयमा कति प्रेम छोडेर गयो त्सको मूल्य ठूलो हुन्छ। आज मेरो जन्मदिनमा म आफूलाई कुनै ठूलो वाचा गर्दिनँ। बस्, यति चाहन्छु—गल्ती हुँदा आफूलाई क्षमा गर्न सकूँ, सफल हुँदा अहंकारबाट बच्न सकूँ, हार्दा फेरि उठ्न सकूँ, र जित्दा अरूलाई पनि साथमा उठाउन सकूँ।
म जीवनसँग अब पूर्णताको माग गर्दिनँ। किनकि अपूर्णतामै जीवनको वास्तविक सौन्दर्य रहेछ। केही सपना अधुरा रहून्, केही प्रश्न अनुत्तरित रहून्, केही बाटाहरू अझै अपरिचित रहून्—सायद यही अधुरोपनले भोलिको यात्रालाई अर्थ दिन्छ। आज म पछाडि हेर्छु—पश्चात्तापले होइन, कृतज्ञताले। अगाडि हेर्छु—डरले होइन, विश्वासले। र वर्तमानमा उभिएर आफैँलाई भन्छु—“तिमीले सबै कुरा सही गरेका छैनौ, तर तिमीले हरेक गल्तीबाट केही सिकेका छौ। तिमीले सबैलाई खुसी बनाउन सकेनौ, तर आफ्ना मानिसहरूलाई माया गर्न कहिल्यै छोडेनौ। तिमीले जीवन जितेका छैनौ, तर जीवनसँग हार मानेका पनि छैनौ।” सायद यही नै जीवन हो—पुग्ने ठाउँभन्दा हिँडेको बाटो महत्वपूर्ण हुनु, जितभन्दा यात्राले आफूलाई बदल्नु महत्वपूर्ण हुनु, र अन्त्यभन्दा प्रत्येक दिनलाई अर्थपूर्ण बनाउनु महत्वपूर्ण हुनु। आज मेरो जन्मदिन हो। अर्को एउटा वर्ष मेरो जीवनबाट बित्यो होइन—मेरो जीवनमा थपियो। आज म समयसँग डराएको छैन। म उमेरसँग लडेको छैन म केवल मुस्कुराउँदै आफ्नो यात्रालाई हेर्दैछु— अझै बाटो बाँकी छ, अझै सिकाइ बाँकी छ, अझै माया बाँकी छ, अझै केही सपना बाँकी छन् र जबसम्म मेरो हृदयमा आफ्ना मानिसहरूका लागि प्रेम छ, आफ्नो यात्राप्रति विश्वास छ, र हरेक बिहान फेरि सुरु गर्ने साहस छ—मलाई लाग्छ, जीवनले मलाई पर्याप्त दिएको छ। आज म जन्मदिन मनाइरहेको छैन मात्र—आज म आफूले बाँचेको जीवनलाई धन्यवाद दिइरहेको छु। र भोलिरु भोलि फेरि एउटा नयाँ पाठ सुरु हुनेछ। म विद्यार्थी नै रहनेछु—जीवनको अन्तिम दिनसम्म। जीवनको यात्रामा अर्को एउटा वर्ष थपियो, पछाडि फर्केर हेर्दा लाग्छ— मैले धेरै पाएँ, धेरै गुमाएँ, तर हरेक मोडले मलाई अझ राम्रोसँग म बन्न सिकायो। जीवन सधैँ मैले चाहेझैँ भएन, कहिले खुसीले अँगाल्यो, कहिले पीडाले केही सिकायो, कहिले आफ्नै लागेकाहरूले पराइ बनाए, तर आज कुनै गुनासो छैन— किनकि हरेक अनुभव मेरो जीवनको एउटा पाठ बनेको छ।
अब मलाई जित्नु मात्र छैन, बुझ्नु पनि छस सबैलाई बदल्नु छैन, परिस्थितिलाई स्वीकार्न पनि छ। हरेक मानिस फरक हुन्छ, हरेक सम्बन्धको आफ्नै अर्थ हुन्छ, र हरेक अपेक्षा पूरा हुनु जीवनको नियम होइन भन्ने बुझ्दैछु। आज म खुसी छु— ठ्याक्कै सबै कुरा पूर्ण भएर होइन, अपूर्णताभित्र पनि सुन्दरता देख्न सिकेको छु भनेर। मेरो परिवार— मेरो शक्ति, मेरो संसार, मेरो प्रियजनहरू— मेरो यात्राका अमूल्य सहयात्री। उनीहरूको मुस्कानका लागि म अझै धेरै यात्रा गर्न चाहन्छु, उनीहरूको खुसीका लागि आफ्ना सपनाहरूलाई पनि अझ जिम्मेवार बनाउन चाहन्छु। जिन्दगीले जति दिन बाँकी राखेको छ, म त्यसलाई केवल बिताउन चाहन्नँ, महसुस गर्न चाहन्छु, सिक्न चाहन्छु, माया गर्न चाहन्छु, र आफूले सकेसम्म आफ्ना मानिसहरूको जीवनमा एउटा राम्रो सम्झना बन्न चाहन्छु। अब उमेर बढ्नु मेरो लागि केवल संख्या होइन, यो अनुभवको अर्को अध्याय हो— जहाँ गल्तीहरू पछुतो होइनन्, सिकाइ हुन्स हारहरू अन्त्य होइनन्, अर्को सुरुवात हुन्। आज आफ्नो जन्मदिनमा म आफैँलाई एउटा वाचा गर्छु— जे आए पनि मुस्कुराउनेछु, जे गुमे पनि कृतज्ञ रहनेछु, आफ्ना प्रियजनहरूको साथ निभाउनेछु, र जीवनले जहाँ पुर्याए पनि इमानदार भएर हिँडिरहनेछु। किनकि जीवन पूर्ण हुनका लागि होइन, हरेक दिन केही नयाँ सिक्दै अझ राम्रो मान्छे बन्दै जानका लागि हो। म जीवनसँग खुसी छु। मसँग जे छ, त्यसका लागि धन्यवाद, जे छैन, त्यसका लागि पनि स्वीकारोक्ति, र जे आउँदैछ— त्यसका लागि उत्सुकता। मेरो यात्रा जारी छ‘ अझै धेरै सिक्न बाँकी छ, अझै धेरै माया गर्न बाँकी छ, अझै धेरै मुस्कुराउन बाँकी छ।
जन्मदिनको शुभकामना मलाई— मेरो आफ्नै जीवनको यो सुन्दर यात्राका लागि। 🎂❤️