


काठमाडौं, २० भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढी प्रभावित क्षेत्रका ज्येष्ठ नागरिकलाई राज्य र सरकारले कहिल्यै एक्लो तथा अलपत्र नछोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नुवाकोटको विदुर–१० बेत्रावतीमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार गरेको घटनालाई आशाको सन्देशका रूपमा उल्लेख गर्दै प्रधानमन्त्री शाहले खोज तथा उद्धार कार्य निरन्तर जारी रहेको बताए ।
बाढीबाट प्रभावित ज्येष्ठ नागरिकलाई अस्थायी शिविर, स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श तथा आवश्यक सहायक सामग्री उपलब्ध गराइएको उनले जानकारी दिए। विस्थापित ज्येष्ठ नागरिकको सुरक्षित र दीर्घकालीन बसोबासको व्यवस्था सकेसम्म छिटो मिलाइने पनि प्रधानमन्त्री शाहले बताए ।
“हजुरहरूले आफूलाई एक्लो नठान्नु होला। जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौं। हजुरहरूसँग यो राज्य छ, यो सरकार छ,” प्रधानमन्त्री शाहले भनेका छन् ।
उनले बाढीमा ज्यान गुमाउने ज्येष्ठ नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पीडित नागरिकको आक्रोशलाई पीडाको अभिव्यक्तिका रूपमा बुझ्नुपर्ने धारणा राखे । साथै, जोखिमपूर्ण अवस्थामा खोज तथा उद्धारमा खटिरहेका सुरक्षाकर्मीप्रति कृतज्ञता व्यक्त गर्दै उनीहरूको मनोबल बढाउनु सबैको कर्तव्य भएको बताए ।