


तनहुँ, १६ कात्तिक । नेपाली कांग्रेस व्यास नगर कार्यसमितिको पदस्थापना कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रमको पहिलो चरणमा निवर्तमान नगर सभापति सूर्यचन्द्र हडखलेको अध्यक्षतामा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा नवनिर्वाचित नगर सभापति तुलसीराम सापकोटाले पदभार ग्रहण गरेका थिए । निवर्तमान सभापति हड्खलेले नवनिर्वाचित सभापति सापकोटालाई पद हस्तान्तरण गरेका थिए ।
कार्यक्रमको दोस्रो चरण नवनिर्वाचित नगर सभापति तुलसीराम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थ तथा विशिष्ट अतिथिका रूपमा केन्द्रीय सदस्य डा. जगदीशचन्द्र पोखरेलको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन नगर कार्यसमितिका सचिव गौरब पन्थले गरेका थिए ।
कार्यक्रममा विभिन्न तहका महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा निवर्तमान सभापति वैकुण्ठ न्यौपानेले नेपाली कांग्रेसको वर्तमान पार्टी अवस्था, संगठनात्मक चुनौती तथा समसामयिक राजनीतिक परिस्थितिका विषयमा आफ्नो धारणा राख्नुभएको थियो। साथै उपस्थित अन्य अतिथि तथा नेताहरूले पनि पार्टीको संगठन सुदृढीकरण, भावी कार्यदिशा र समसामयिक विषयमा मन्तव्य राखेका थिए ।
यस अवसरमा नवनिर्वाचित नगर कार्यसमितिले व्यास नगरमा पार्टी संगठनलाई थप क्रियाशील, जनमुखी तथा सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध बनाउने उद्देश्यसहित तीनवटा मुख्य कार्यक्रम अघि सारेको छ।
१. युवा प्रतिनिधि परिषद् गठन
३५ वर्षमुनिका क्षेत्रीय प्रतिनिधिहरूलाई समेटेर व्यास नगरस्तरीय युवा प्रतिनिधि परिषद् गठन गर्ने कार्यक्रम अघि सारिएको छ। यस परिषद्मार्फत युवाहरूको नेतृत्व विकास, क्षमता अभिवृद्धि, संगठनात्मक सक्रियता तथा रचनात्मक भूमिकालाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।
२. विपद्मा कांग्रेस : ५० सदस्यीय युवा र्यापिड टास्क फोर्स
व्यास नगरपालिकाभित्र विपद्का समयमा तत्काल परिचालित हुन सक्ने युवाहरूको ५० सदस्यीय र्यापिड टास्क फोर्स गठन गर्ने कार्यक्रम अघि सारिएको छ। नगर सभापति तुल्सीराम सापकोटाको नेतृत्व तथा समन्वयमा रहने यस टोलीले बाढी, पहिरो, आगलागी लगायतका विपद्का समयमा उद्धार, राहत तथा मानवीय सेवाका कार्यमा सहयोग गर्नेछ। राजनीतिक आस्थाभन्दा माथि उठेर मानवीय सेवामा समर्पित हुनु यस कार्यक्रमको मूल भावना रहनेछ।
३. संवादमा कांग्रेस : घरदैलो तथा जनसंवाद अभियान
पार्टी संगठन र आम नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले व्यास नगरपालिकाका सबै वडाका टोलटोल तथा घरघरमा पुगेर घरदैलो र जनसंवाद कार्यक्रम सञ्चालन गरिने भएको छ। यस अभियानमार्फत पार्टीका सदस्य, निष्क्रिय तथा पार्टीबाट टाढिएका नेता–कार्यकर्ता र स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गरी उनीहरूका सुझाव, गुनासा र अपेक्षा सुन्ने तथा संगठनलाई थप जीवन्त बनाउने लक्ष्य राखिएको छ।
कार्यक्रमको अन्त्यमा उपस्थित अतिथि, नेता तथा कार्यकर्ताहरूबीच चियापान कार्यक्रम आयोजना गरी पदस्थापना कार्यक्रम सम्पन्न गरिएको थियो।
नवनिर्वाचित नगर कार्यसमितिले अघि सारेका यी तीन कार्यक्रमले युवा नेतृत्व विकास, विपद् व्यवस्थापनमा सामाजिक सहभागिता र जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन्। संगठनलाई थप व्यवस्थित, सक्रिय र जनतासँग जोड्ने उद्देश्यका साथ नगर कार्यसमितिले यी कार्यक्रमलाई आगामी दिनमा कार्यान्वयन गर्ने लक्ष्य लिएको छ।