


पोखरा, ३० कात्तिक । मौसम प्रतिकूल रहे पनि फ्लाई दुबईको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।
पोखरामा आइतबार साँझ ठूलो वर्षा भएको र मौसम पूर्ण रूपमा नखुलेको अवस्थामा फ्लाई दुबईको विमान साँझ ८ः१० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको हो ।
मौसमको प्रतिकूलताका बाबजुद उडान सञ्चालन भएको जनाउँदै पोखरा–दुबई हवाई सेवा नियमित रहेको जानकारी गराइएको छ । फ्लाई दुबईले पोखरा–दुबई उडान साताको सातै दिन अर्थात् दैनिक सञ्चालन गर्दै आएको छ ।
निर्धारित तालिकाअनुसार फ्लाई दुबईको विमान प्रत्येक दिन साँझ ७ः३५ बजे पोखरा अवतरण गर्ने र ८ः३५ बजे दुबईका लागि उडान भर्ने गरेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनुले पोखराको हवाई सम्पर्क विस्तारमा सहयोग पुगेको छ । यसले पोखराको पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय पर्यटकको आवागमनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।