


काठमाडाै ५ मङ्सिर । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो ।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । सुदूरपश्चिमको जितमा जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गर्दै शतक बनाए । उनले ५४ बलमा ८ चौका र १२ छक्काको मद्दतमा अविजित १२५ रन बनाए ।
त्यस्तै विनोद भण्डारीले २७ बलमा ३ चौकासहित अविजित ३० रनको योगदान दिए । यी दुईबीच पहिलो विकेटका लागि अविजित १५८ रनको साझेदारी भयो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो ।
लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक अविजित ३९ रन बनाए । उनले ३१ बलमा ३ छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले ३१ बलमा ३० रन जोड्दा निरोशन डिकवेलाले १७ बलमा २८ रन बनाए ।
त्यस्तै अली शेखले १२ बलमा २४, डार्सी शर्टले १८ बलमा २१ रन बनाए । आसिफ शेख १ र सुन्दीप जोराले ४ रन बनाएर आउट भए ।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए । हेमन्त धामी, थारिन्दु रत्नायके र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।
सुदूरपश्चिमले १० विकेटको जितसहित एनपीएलको उपाधि आफ्नो नाममा गरेको हो ।