तनहुँ : पशुपालनतर्फ कृषकलाई आकर्षित गर्ने सरकारको नीति बमोजिम तनहुँ जिल्लामा रहेका विभिन्न बैङ्कले सहुलियत दरमा कर्जा प्रवाह गरेका छन् । दमौलीमा रहेका ६ वटा बैङ्कले गत आर्थिक वर्ष ०७६÷७७ मा पशुपंक्षीपालनका लागि सहुलियत दरमा रु १३ करोड २६ लाख कर्जा प्रवाह गरेका हुन् ।
भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहँुका अनुसार लक्ष्मी बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, कुमारी बैङ्क, सनराइज बैङ्क र कृषि विकास बैङ्कले १ सय ८७ कृषकलाई सहुलियत कर्जा प्रवाह गरेका छन् । केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले सहुलियत कर्जा लिएका कृषकहरुले बाख्रा, कुखुरापालन र गाईभैसी पालन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सहुलियत कर्जामा तीनदेखि आठ प्रतिशतसम्म व्याज तिर्नुपर्छ ।
गत आर्थिक वर्षमा लक्ष्मी बैङ्कले एक सय २१ कृषकलाई रु तीन करोड ६० लाख, राष्ट्रिय वाणिज्य बैङ्कले १३ कृषकलाई रु तीन करोड ५० लाख, कुमारी बैङ्कले १६ कृषकलाई रु दुई करोड ७० लाख, सनराइज बैङ्कले ९ कृषकलाई रु एक करोड २६ लाख र कृषि विकास बैङ्कले २८ कृषकलाई रु दुई करोड २० लाख कर्जा प्रवाह गरेका छन् ।
लक्ष्मी विकास बैङ्कका शाखा प्रबन्धक दिपेन्द्र श्रेष्ठले बैङ्कबाट सबैभन्दा बढी कुखुरापालन व्यवसायका लागि रु ७५ लाख कर्जा प्रवाह गरिएको जानकारी दिनुभयो । श्रेष्ठका अनुसार पशुपालनतर्फ दुग्ध उत्पादक सहकारीका शेयर सदस्यलाई सामूहिक जमानीमा रु ४ लाख सम्म बिना धितो कर्जा प्रवाह गरिएको छ । “एउटा पशु बापत बढीमा रु ९० हजारसम्म कर्जा प्रवाह गर्छौ,” श्रेष्ठले भन्नुभयो, “धितोको आधारमा रु पाँच करोडसम्म सहुलियत कर्जा प्रवाह हुन्छ ।”
पशुपंक्षीपालनका लागि बैङ्कले ६.२३ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गरिरहेको श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी पाँच प्रतिशत व्याजदर भने सरकारले बेहोर्नेछ ।
कृषि तथा पशुपंक्षी कर्जा १८ वर्ष उमेर पुगेकाले पाउँछन् । रु दश लाखसम्म कर्जा लिन सामूहिक जवानी, रु दश लाख भन्दामाथि कर्जा लिन संस्था र रु एक करोड भन्दामाथि कर्जा लिन कम्पनी हुनुपर्ने व्यवस्था सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान कार्यविधिले गरेको छ ।