चेपाङ र कुसुण्डा बालबालिकालाई शैक्षिक सामग्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    चेपाङ र कुसुण्डा बालबालिकालाई शैक्षिक सामग्री

    खबरपुञ्ज संवाददाता

    ९ आश्विन २०७७, शनिबार

    तनहुँ : साभ नेपाल र भर्चुअस फाउण्डेशनले तनहुँको व्यास नगरपालिका–११ ओडोरेका चेपाङ र व्यास नगरपालिका–१० डिहीगाउँका कुसुण्डा बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ । संस्थाले ओडारेका ६० चेपाङ र डिहीगाउँका एक कुसुण्डा बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको हो ।

    आर्थिक रुपमा विपन्न एवं सीमान्तकृत समुदायका बालबालिकालाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले झोला, पाठ्यपुस्तक, खेलकुदका सामग्री प्रदान गरिएको संस्थाका अध्यक्ष तुलसी प्रभासले जानकारी दिनुभयो । उहाँका अनुसार ओडारे घर भई विभिन्न विद्यालयमा अध्ययनरत ६० बालबालिकालाई करीब रु एक लाख ५० हजार बराबरको शैक्षिक सामग्री प्रदान गरिएको छ । कक्षा नर्सरीदेखि दशसम्म अध्ययनरत बालबालिकालाई सामग्री सहयोग गरिएको हो ।

    त्यस्तै डिहीगाउँ निवासी सीमान्त कुसुण्डालाई पनि झोला, पाठ्यपुस्तक सहयोग गरिएको छ । तनहुँकै एकमात्र कुसुण्डा जातिका छोरी सीमान्तलाई संस्थाले विगत वर्षदेखि नै सहयोग गर्दै आइरहेको छ । सीमान्तलाई कक्षा १० सम्म अध्ययन गर्न आवश्यक पर्ने सम्पूर्ण शैक्षिक सामग्री संस्थाले उपलब्ध गराउँदै आएको छ ।

    व्यास नगरपालिकामा बसोबास गर्ने ३९ प्रकारका जातजातिको सामाजिक सांस्कृतिक पक्षको अनुसन्धानका शिलशिलामा चेपाङ बस्तीमा पुग्दा त्यहाँका बालबालिकाको अवस्थाको बारेमा जानकारी पाएपछि शैक्षिक सामग्री सहयोग गरिएको प्रभासले जानकारी दिनुभयो ।

    शैक्षिक सामग्री खरिदका लागि भर्चुअस फाउण्डेशनमार्फत् सहयोग जुटाइएको छ । फाउण्डेशन प्रभासकै सक्रियतामा गठन भएको संस्था हो । उक्त संस्थामा प्रभासले पढाउनुभएका विद्यार्थी आबद्ध छन् । “२३ वर्षको अध्यापनको शिलशिलामा मैले पढाएका विद्यार्थीहरुलाई एकताबद्ध गरी उक्त फाउण्डेशन स्थापना गरेको हुँ, फाउण्डेशनमा देश तथा विदेशमा रहेका मैले पढाएका विद्यार्थी आबद्ध छन्,” उहाँले भन्नुभयो, “त्यही विद्यार्थीले पठाएको रकमले शैक्षिक सामग्री सहयोग गरेका हौ ।”

    भर्चुअसको अर्थ सत्कर्म रहेको र सत्कर्मको पहिलो यात्रा शैक्षिक सामग्री वितरणबाट शुरु गरिएको प्रभासले बताउनुभयो । “गुरुशिष्य सत्कर्मको पहिलो अभियानको थालनी चेपाङ र कुसुण्डा बालबालिकालाई सहयोग गरेर शुरु गरेका हौ,” उहाँले भन्नुभयो ।

    ओडारेमा आयोजित शैक्षिक सामग्री वितरणमा व्यास नगरपालिका–११ का वडाध्यक्ष नीरबहादुर खड्काले आर्थिक रुपमा विपन्न सीमान्तकृत बालबालिकालाई सबैको सहयोगको खाँचो रहेको औंल्याउनुभयो । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले चेपाङ र कुसुण्डा बालबालिकालाई सहयोग गरेर संस्थाले उदाहरणीय काम गरेको चर्चा गर्नुभयो ।