काठमाडौँ : वरिष्ठ पाइलट विजय लामा कोरोना संक्रमणमुक्त हुनुभएको छ । संक्रमण मुक्त भएसँगै उहॉ ललितपुरस्थित स्टार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
उहॉ भदौ २९ मा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना हुनुभएको थियो । १८ दिनसम्म अस्पतालमा रहनुभएका लामा बिहीबार निको भएर डिस्चार्ज हुनुभएको हो ।
उहॉले कयौँ पीडाबीच आफूले कोरोनासँग हरेक दिन संघर्ष गरेर जितेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नुभएको छ । ‘मैले हरेक दिन कोरोनासँग लडिरहेँ। अनेक दु:ख र कष्टबीच कोरोनासँगको संघर्षमा हार मानिनँ’, उहॉले भन्नुभएको छ ‘यसबीचमा मैले भोगेका कष्टप्रद क्षणहरू अनगिन्ती छन्, कोरोनाले गलाउन खोजिरहँदा पनि मैले निरन्तर संघर्ष गरेर जितें।’