तनहुँ : जिपी फाउण्डेशन तनहुँले ६ सुत्रीय माग राखी २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्न माग गरेको छ । नेपालको संविधानले प्रत्याभूत गरेको शिक्षा र स्वास्थ्यको अधिकारको कार्यान्वयन हुनुपर्ने माग गर्दै अनसनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल भएकाले उहाँको जीवनरक्षाका लागि फाउण्डेशनले सरकारसँग माग गरेको हो ।
फाउण्डेशनका अध्यक्ष वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले र सचिव कृष्णचन्द्र पाण्डेले बुधबार संयुक्त विज्ञप्ती प्रकाशित गर्दै डा. केसीसँग विगतमा भएका सम्झौता कार्यान्वयन गर्न र वर्तमानमा राखेका माग पूरा गर्न माग गरिएको छ ।
स्वास्थ्य सेवा र चिकित्सा क्षेत्रमा देखिएको विकृतिको विरुद्धमा जनस्तरबाट उठेका आवाजहरुलाई मध्यनजर गर्दै गुणस्तरीयता, पारदर्शीता, समानता र सर्वसुलभताको पक्षमा सुधारका लागि प्रभावकारी कदम चाल्नु सरकारको दायित्व भएको भन्दै विज्ञप्तीमा भनिएको छ, “सरकारलाई जिम्मेवारी बोध गराउन एक चिकित्सक पटक पटक अनसन बस्नुपर्ने अवस्था आउनु दुःखद हो । त्यसमाथि जायज माग राखेर सङ्घर्षरत सत्याग्रहीको सरकारले वेवास्ता गर्नु र उसको जीवनरक्षाका लागि पहल गर्नु दुर्भाग्यपूर्ण अवस्था हो ।”
नेपालमा कोरोना महामारी झनै फैलदै गएको र यसको विरुद्ध नागरिक र सरकार सबै एकजुट भएर लाग्नुपर्नेमा सरकारले नागरिक स्तरबाट उठेका आवाज र मागहरुलाई प्रतिनिधित्व गर्ने डा. केसीको अनसनलाई नजरअन्दाज गर्न उचित नहुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।