तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाका मजदुरले आन्दोलन स्थगित गरेका छन् । पिसीआर परीक्षण गर्न माग गर्दै शुक्रबारदेखि आन्दोलित मजदुरले शनिबार बिहान आन्दोलन स्थगित गरेका हुन् ।
आयोजनाको दोस्रो प्याकेज अन्तर्गत सिनो हाइड्रोले परिचालन गरेका मजदुरले परिवार सहित आफूहरुको पिसीआर परीक्षण गर्नुपर्ने, पिसीआर परीक्षणको रिपोर्ट नआउँदासम्म क्वारेन्टिन बस्दा पनि सेवा सुविधा पाउनुपर्ने माग सहित आन्दोलन गरेका थिए ।
आज बिहान जलविद्युत आयोजना, निर्माण कम्पनी र मजदुरबीच भएको छलफलमा पिसीआर परीक्षण गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरेको सिनो हाइड्रो मजदुर युनियनका संयोजक आशिष श्रेष्ठले बताउनुभयो । “हाम्रो मागमा निर्माण कम्पनी सहमत भएको छ, “एक जना मजदुरलाई कोरोना सङ्क्रमण भएको र पहिलो चरणमा उहाँको सम्पर्कमा आएकाको पिसीआर परीक्षण गर्ने तयारी भएको छ ।”
निर्माण कम्पनीले पिसीआर परीक्षणका लागि काठमाडौबाट स्वास्थ्यकर्मीको टोली मगाएको र आफूहरु त्यसकै प्रतिक्षामा रहेको मजदुर मोतीकुमार श्रेष्ठले बताउनुभयो । सिनो हाइड्रोले विद्युतगृह निर्माणका लागि २ सय २८ मजदुर परिचालन गरेको छ । त्यसमध्ये १ सय ९५ क्याम्पभित्रै र बाँकी क्याम्प बाहिर घरमै बस्ने गरेका छन् । “घर जानेहरुको परिवारका सदस्य पनि जोखिममा रहने भएकाले परिवारका सदस्य सहित सबैको पिसीआर परीक्षण गर्नुपर्ने हाम्रो माग हो,” श्रेष्ठले भन्नुभयो । पिसीआर परीक्षणको रिपोर्ट नआउँदासम्म आफूहरु काममा भने नजाने श्रेष्ठले बताउनुभयो ।
एक मजदुरलाई कोरोना सङ्क्रमण देखिएपनि सिनो हाइड्रोले आइसोलेशनमा राख्ने व्यवस्था नगरी सिधै घर पठाएर लापरवाही गरेको श्रेष्ठले बताउनुभयो । “उसलाई आइसोलेशनमा राख्ने व्यवस्था सिनो हाइड्रोले मिलाउनुपर्ने थियो, तर उसलाई घर पठाएर झन् जोखिम बढाउने काम भएको छ,” श्रेष्ठले भन्नुभयो ।
सिनो हाइड्रोले पिसीआर परीक्षण नगरिकनै मजदुर ल्याउने गरेको आरोप श्रेष्ठले लगाउनुभयो । “परीक्षण नगरी नै मजदुर क्याम्पमा ल्याउँछन्, कसैलाई एक दिन क्वारेन्टिनमा राख्छन्, सरकारको मापदण्ड बमोजिम कम्तिमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्छ,” उहाँले भन्नुभयो ।
विद्युतगृह निर्माणका लागि तनहुँ, लमजुङ, हेटौडा, बर्दिया, झापा, उदयपुर लगायत धेरै जिल्लाका मजदुर छन् । त्यसमध्ये स्थानीय करीब एक सय ५० जना छन् भने अन्य बाहिरी जिल्लाका हुन् ।
तनहुँ जलविद्युत आयोजनाका प्रमुख अच्युत घिमिरेले निर्माण कम्पनी र मजदुरबीच आज बिहान भएको छलफल सकारात्मक रहेर मजदुरले आन्दोलन स्थगित गरेको जानकारी दिनुभयो । “काठमाडौबाट टोली मगाएर पिसीआर गर्ने तयारी हुँदैछ,” उहाँले भन्नुभयो ।