काठमाडौं : नेपाली सेनाका ३ हजार १४२ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। नेपाली सेनाको कूल संख्याको ३.२७ प्रतिशतमा संक्रमण देखिएको छ। ९६ हजारको हाराहारीमा नेपाली सेनाको संख्या छ।
“अहिलेसम्म ३ हजार १४२ सैनिकलाई कोरोना संक्रमण भएको छ,” नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलले जानकारी भन्नुभयो, “सेनाभित्र सक्रिय संक्रमितको संख्या १ हजार ४६७ रहेको छ।”
नेपाली सेनाले सुरुदेखि नै कोरोना भाइरस नियन्त्रण तथा रोकथाम अभियानको अग्रपंक्तिमा रहेर काम गर्दै आएको छ। चीनका वुहानबाट उद्धार गरेर ल्याइएका नेपाली विद्यार्थीको व्यवस्थापन र रेखदेख पनि सेनाले गरेको थियो।
नेपाली सेनाभित्र पहिलो पटक कोरोना संक्रमण जेठ ३ गते देखिएको थियो। “कोरोना संक्रमित सैनिकमध्ये १ हजार ६७३ जना निको भइसकेका छन्। बाँकी सक्रिय सैनिकको स्वास्थ्य अवस्था पनि सामान्य छ,’ सैनिक प्रवक्ता पौडेलले भन्नुभयो ।
कोरोना संक्रमित सैनिकमध्ये हालसम्म दुई जनाको मृत्यु भएको उनले जनाए। मृत्यु भएका मध्ये एक जनामा चार वर्षदेखि ब्लड क्यान्सर थियो भने अर्का एक जनामा छारे रोग देखिएपछि उपचारका क्रममा कोरोना भाइरसको संक्रमण भएको पाइएको थियो।
“नेपाली सेनाको सबैभन्दा ठूलो संख्या काठमाडौं उपत्यकामा छ। करिब १६ हजार संख्यामा यहाँ सेना रहेको छ। यसैकरण पनि संक्रमित सैनिकको संख्या उपत्यकामा बढी छ,” उहॉले भन्नुभयो ।