काठमाडौं : नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ५७७ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना पुष्टि भएका संक्रमितको कुल सङ्ख्या एक लाख १५ हजार नाघेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ । २४ घण्टामा १,५०३ सङ्क्रमित रोगमुक्त भएको मन्त्रालयले बताएको छ। अहिलेसम्म नेपालमा ७८,७८० जना सङ्क्रमित निको भइसकेका छन्। अहिले देशभरि ३५,९१५ जनामा सक्रिय संक्रमण रहेका छन् ।
तीमध्ये २०,८६७ जना घरमा र बाँकी १५,०४८ जना संस्थागत आइसोलेशनमा बसिरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ। तीमध्ये अधिकांश काठमाण्डू उपत्यकाका हुन्।
थप १८ जनाको मृत्यु
नेपालमा वितेको २४ घण्टामा कोरोना संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म ६६३ सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्यांकमा उल्लेख छ ।
उपत्यकामा थप २ हजार १२९ जना संक्रमित
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप २ हजार १२९ जनामा कोरोनाभाइरस संक्तमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ गरी कुल २ हजार १२९ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३६ हजार नजिक पुगेको छ।