उपाध्यक्ष गौतम विरुद्धको सुनुवाइ स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    उपाध्यक्ष गौतम विरुद्धको सुनुवाइ स्थगित

    खबरपुञ्ज संवाददाता

    २७ आश्विन २०७७, बुधबार

    काठमाडौं : राष्ट्रिय सभा सदस्यमा मनोनीत सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम विरुद्ध सर्वोच्चमा विचाराधिन मुद्दाको सुनुवाई फेरि स्थगित भएको छ । बुधबार न्यायाधीशहरुको गणपूरक संख्या नपुगेकाले संवैधानिक इजलास स्थगित भएको हो । सर्वोच्च अदालतका अनुसार अब गौतम विरुद्धको मुद्दाको सुनुवाई दशैंपछि मात्र हुने निश्चित भएको छ ।

    अब दशैं अगाडि शुक्रबार मात्रै संवैधानिक इजलास तोकिने दिन हो । सर्वोच्च अदालमा हप्तामा दुई दिन (बुधबार र शुक्रबार) मात्र संवैधानिक इजालस बस्छ । तर कोरोना संक्रमणका कारण अधिकांश न्यायाधीश घरमै भएकाले हरेक दिन अत्यान्त कम संख्यामा न्यायाधीशले सर्वोच्चमा सुनुवाइ गर्दै आएका छन् । बुधबार चार न्यायाधीश उपस्थित भएकोमा एउटा संयुक्त र दुई वटा एकल इजलास मात्रै गठन भएका छन् ।

    अबको तीन दिनपछि नेपालीहरुको महान चाड दशैं सुरु हुँदैछ । कातिक ३ गते अर्थात शनिबार घटस्थापना रहेको छ । घटस्थापनापछि देशभरका न्यायालयमा सार्वजनिक बिदा दिने परम्परा छ । उक्त समयमा बन्दी प्रत्यक्षीकरणको निवेदन सुनुवाइका लागि सर्वोच्च अदालत लगायतका अड्डा आंशिक रुपमा मात्रै खुल्ला हुन्छन् । त्यसैले दशैं अगाडि उपाध्यक्ष गौतम विरुद्ध परेको मुद्दा सुनुवाइका लागि संवैधानिक इजलास गठनको सम्भावना अत्यान्त न्यून देखिन्छ ।

    यसअघि पनि उपाध्यक्ष गौतमको सुनुवाई पटक पटक स्थगित हुँदै आएको छ । सर्वोच्च अदालतमा कोरोना भाइरसको संक्रमण फैलिएर प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणासहित अन्य न्यायाधीशहरु होम आइसोलेसनमा बसेको सर्वोच्च स्रोतको भनाइ छ । यसअघि वामदेव विरुद्धको मुद्दामा संवैधानिक इजलाश गठन गरिएको थियो । यो मुद्दाको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दिपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र इश्वर खतिवडा रहेका छन् ।