तनहुँ : तनहुँको व्यास नगरपालिका–३ निवासी राजकुमार श्रेष्ठले सत्यवती माध्यमिक विद्यालयमा रु पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्य बमोजिम श्रेष्ठले विद्यालयमा रु पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको हो ।
८४ औं जन्मदिनको अवसरमा गत वर्ष रु दुई लाखको अक्षयकोष स्थापना गर्नुभएका श्रेष्ठले उक्त कोषमा बिहीबार रु तीन लाख थप गर्नुभएको छ । उक्त रकम श्रेष्ठ सहित छोरा शान्तकुमार श्रेष्ठ र बुहारी इन्द्रकला श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य अधिकारी र प्रधानाध्यापक इन्द्रप्रसाद पौडेललाई हस्तान्तरण गर्नुभयो ।
उक्त रकम दमौलीस्थित शुभश्री बचत तथा ऋण सहकारीमा राजकुमार श्रेष्ठ छात्रवृत्ति कोषमा जम्मा गरिएको र कोषबाट प्राप्त हुने व्याजले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको प्रधानाध्यापक पौडेलले जानकारी दिनुभयो ।