तनहुँ : तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले दशैं भत्ता बापतको रकम जिल्लाका मिर्गौला पीडितलाई मङ्गलबार हस्तान्तरण गर्नुभएको छ । दशंै भत्ता बापतको रकम मिर्गौला पीडितलाई सहयोग गर्ने पूर्व प्रतिबद्धता बमोजिम सांसद श्रेष्ठले व्यास नगरपालिकाका विभिन्न वडाका तीन मिर्गौला पीडितलाई उक्त रकम हस्तान्तरण गर्नुभएको छ । एक जना पीडितलाई भने रकम हस्तान्तरण गर्न बाँकी छ ।
व्यास नगरपालिका–१ का अमृतबहादुर खत्री, व्यास नगरपालिका–४ का अब्दुल गफ्फार मियाँ र व्यास नगरपालिका–१४ का सन्तोष राना मगरलाई जनही रु १६ हजारका दरले रकम सहयोग गरिएको सांसद श्रेष्ठका स्वकीय सचिव जगतबहादुर खड्काले जानकारी दिनुभयो । व्यास नगरपालिका–१२ का अनुप क्षेत्रीलाई भने रकम हस्तान्तरण गर्न बाँकी छ । सांसद श्रेष्ठले व्यास नगरपालिका–१ खत्रीलाई उक्त रकम हस्तान्तरण गर्नुभयो भने बाँकी दुई जनालाई स्वकीय सचिव खड्काले रकम हस्तान्तरण गर्नुभएको छ ।
देश विषम् परिस्थिति र नागरिकहरु समस्याग्रस्त भएको अवस्थामा दशैं खर्च बापतको रकमको औचित्यको बारेमा धेरैतिरबाट आवाज उठेकाले उक्त रकम मिर्गौला पीडितलाई दिने सांसद श्रेष्ठले सोमबार घोषणा गर्नुभएको थियो । सांसद श्रेष्ठले सांसदको रुपमा निर्वाचित भएर शपथ ग्रहण गरेपश्चात अहिलेसम्मको सबै महिनाको पारिश्रामिक तनहँु जिल्लाका विभिन्न सङ्घसंस्था र समुदायलाई उपलब्ध गराउँदै आउनुभएको छ ।