११६ जुवाडे पक्राउ, २१ लाख बढी रकम बरामद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ११६ जुवाडे पक्राउ, २१ लाख बढी रकम बरामद

    खबरपुञ्ज संवाददाता

    २९ कार्तिक २०७७, आईतवार

    काठमाडौं : देशका विभिन्न स्थानबाट शनिबार राति जुवातास खेलिरहेका ११६ जना पक्राउ परेका छन्। नेपाल प्रहरी प्रधान कार्यालय समाचार कक्षका अनुसार प्रहरीले काठमाडौं, सुर्खेत, तनहुँ, पर्वत, गोरखा, उदयपुर र कञ्चनपुरबाट ११६ जनालाई पक्राउ गरेको हो।

    यी स्थानबाट प्रहरीले २१ लाख ३७ हजार ५३५ रुपैयाँ जुवाखालबाट बरामदसमेत गरेको छ। प्रहरीका अनुसार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८ बाट २४ जनालाई पक्राउ गरेको छ।

    महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले  नगद चार लाख २४ हजार पाँच सय रुपैयाँ, १६ थान कौडा र ६ बुक ताससहित उनीहरुलाई पक्राउ गरेको हो। सुर्खेत, पञ्चपुरी नगरपालिका–२ श्रीचौर बस्ने जनक शर्माको घरमा तास खेलिरहेका १५ जना पक्राउ परेका छन्।

    प्रहरी चौकी सालकोट सुर्खेतबाट खटिएको प्रहरीले नगद दुई लाख २१ हजार ६७० रुपैयाँ र तीन गड्डी ताससहित उनीहरुलाई  पक्राउ गरेको हो। यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–४ गौरी टोल बस्ने रञ्जन शाहीको घरमा तास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ परेका छन्।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले नगद एक लाख २२ हजार ३४३ रुपैयाँ र तीन गड्डी ताससहित उनीहरुलाई पक्राउ गरेको हो।

    त्यस्तै तनहुँको भानु नगरपालिका–१२ मिर्लुङ कवाचित बस्ने उमेश अधिकारीको कटेजमा कौडा खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

    इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेबाट खटिएको प्रहरीले नगद तीन लाख ७५ हजार ६३० रुपैयाँ, १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरिएको हो।

    पर्वतको कुश्मा नगरपालिका–४ बस्ने चन्द्र पौडेलको घरमा तास खेलिरहेको अवस्थामा नगद तीन लाख ४८ हजार ५५ रुपैयाँसहित चार जना पक्राउ परेका छन्।  

    गोरखा गाउँपालिका–७ खहरेबाट नगद एक लाख ७५ हजार ७३५ रुपैयाँ र १६ थान कौडासहित ३४ जना पक्राउ परेका छन्।

    उदयपुरको त्रियुगा नगरपालिका–१० करमगाछी बस्ने प्रेम भट्टराईको घरमा तास खेलिरहेको अवस्थामा ९ जनालाई नगद दुई लाख ४७ हजार ११७ रुपैयाँसहित पक्राउ गरिएको छ। 

    त्यस्तै कञ्चनपुरको वेदकोट नगरपालिका–३ दैजी बाट सात जना पक्राउ परेका छन्। उनीहरुको साथबाट दुई लाख २२ हजार ४८५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।