तनहुँसुरमा घरबास व्यवस्थापन तथा अतिथि सत्कार तालिम सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    तनहुँसुरमा घरबास व्यवस्थापन तथा अतिथि सत्कार तालिम सम्पन्न

    खबरपुञ्ज संवाददाता

    १३ मंसिर २०७७, आईतवार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले वडा नं ११ तनहुँसुरमा घरबास सञ्चालनका लागि तालिम प्रदान गरेको छ । तनहुँसुरमा घरबास सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले नगरपालिकाले अतिथि सत्कार तथा घरबास व्यवस्थापन तालिम प्रदान गरेको हो ।

    तालिम पश्चात् उर्जा तथा वातावरण नेपालले आठ घरधुरीमा घरबास सञ्चालनका लागि खाट तथा आवश्यक सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । ग्रामीण पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य सहित तनहुँसुरमा घरबास सञ्चालन गर्न लागिएको तनहुँसुर सामुदायिक घरबास व्यवस्थापन समितिका उपाध्यक्ष बालकृष्ण श्रेष्ठले बताउनुभयो ।

    उक्त ठाउँमा घरबास सञ्चालनका लागि गण्डकी प्रदेश सरकारले अनुदानको व्यवस्था गरेको छ । श्रेष्ठका अनुसार सामुदायिक घरबास व्यवस्थापन समितिमा अहिले आठ घर आबद्ध छन् । विस्तारै अन्य घरहरुलाई पनि समितिमा आबद्ध गरिने श्रेष्ठले जानकारी दिनुभयो । “घरबास सञ्चालनका लागि स्थानीयले घरहरु सुधार गर्न शुरु गरेका छन्,” उहाँले भन्नुभयो, “तनहुँसुर ऐतिहासिक ठाउँ भएपनि स्थानीयवासीले यसको फाइदा लिन सकेका छैनन् ।”

    मङ्सिर ८ गतेदेखि शुरु तालिमको समापन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले ग्रामीण पर्यटन प्रबद्र्धनका लागि घरबासको भूमिका महत्वपूर्ण हुने बताउँदै ऐतिहासिक एवं सहिद गाउँ तनहुँसुरको प्रबद्र्धनका लागि नगरपालिका जुटिरहेको बताउनुभयो । तनहुँसुरमा सहिदपार्क र तनहुँसुरको प्राचीन सभ्यता हेर्न पर्यटक आउने भएकाले यहाँ आउने पर्यटकलाई घरबासले आतिथ्यता प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

    सम्पदा नेपालका अध्यक्ष एवं पर्यटनविद् हरिसिं गुरुङले घरबास सञ्चालकलाई स्थानीय उत्पादन, खाना तथा पेय पदार्थको व्यवस्थापन, खानाका प्रकार तथा पकाउने विधि, कटिङ, कुकिङको प्रयोगात्मक कक्षा, भान्सा सजावट तथा व्यवस्थापन, खाना सजावट तथा पस्किने तरिका लगायतका विषयमा प्रशिक्षण दिइएको जानकारी दिनुभयो ।

    पृथ्वीराजमार्गस्थित घाँसीकुवाबाट १५ किलोमिटरको दूरीमा अवस्थित तनहुँसुरमा सेन वंशीय राजाले राज्य सञ्चालन गर्दाका दरबार, हतियार, भाषण गर्ने गद्दीचौतारो, कालिका मन्दिर, रानीले नुहाउने इनार लगायत अवलोकन गर्न सकिन्छ । तनहुँसुरमा व्यास नगरपालिकाले रु ३५ लाखको लागतमा सहिद पार्क निर्माण गरेको छ ।

    तनहुँसुरबाट हिमश्रृङ्खला, महाभारत पर्वत श्रृङ्खला, कलेस्तीफाट, चुँदीफाट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ । केही समय अगाडी पुरातत्व विभागले तनहुँसुर दरबारको उत्खनन् गरेको थियो ।