तनहुँ : तनहुँ क्षेत्र २ का प्रतिनिधि सभाका सांसद केदार सिग्देलले लैङ्गिक हिंसामुक्त समाज भएमा मात्र सभ्य समाज निर्माण हुने बताउनुभएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँकाे आयोजनामा बिहीबार दमौलीमा आयोजना गरिएको ‘जातीय विभेद र कोभिड–१९ को कारण महिलामा परेको असर’ विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सिग्देलले जबसम्म लैङ्गिक हिंसा मुक्त समाज बन्दैन, तबसम्म सभ्य समाज पनि बन्न नसक्ने हुँदा हिंसाका विषयलाई सम्बन्धित ठाउँमा उठाउनु पर्ने बताउनुभयो ।
लैङ्गिक हिंसाका मुद्धाहरु शहर बजारमा भन्दा पनि गाउँमा बढि हुने भएकाले यस्ता जनचेतनाका कार्यक्रम गाउँमा गरिनु पर्नेमा सांसद सिग्देलको जोड थियो । पछिल्लो समय सरकारले बलात्कारको घटनामा मिलापत्र गराउनेलाई पनि कडा सजायको व्यवस्था गरेको भन्दै सांसद सिग्देलले त्यसलाई अब संसदले अपनत्व ग्रहण गर्ने बताउनुभयो । अझै घरेलु हिंसाका केही मुद्धाहरुमा पनि त्यस्तै कडा खालको कानुनको आवश्यकता छ भन्दे उहाँले त्यसलाई पनि संसदले सम्बोधन गर्ने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरवावु अधिकारीले कोभिडको समयमा सबैभन्दा धेरै पीडित महिला नै भएको बताउनुभयो । व्यास नगरपालिकाका महिला तथा बालबालिका शाखाकी प्रमुख राधा आचार्यले सरकारी कार्यालयले सेवा प्रवाह गर्दा लैङ्गिक मैत्री हुनुपर्छ भन्नेमा आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो ।
नेपाल बार एशोसिएसन तनहँुका पूर्व अध्यक्ष अधिवक्ता शिवदत्त ढकालले जातीय विभेदको बारेमा संविधानमा भएको प्रस्तावको व्यवस्था, मौलिक हक अन्तरगत शोषण विरुद्धको हक, दलितको हकको बारेमा सबै जानकार हुनुपर्ने बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ तनहँुका जिल्ला सचिवालय सदस्य अनिल पाण्डेले वैदेशिक रोजगारीबाट घरका लोग्ने मान्छे फर्किएपनि त्यसको दीर्घकालिन रुपमा परिवारको आर्थिक बोझ र समस्या धेरै महिलालाई नै परेको बताउनुभयो ।
मानवअधिकार निगरानी समूहका जिल्ला संयोजक रामलिला सुवर्णकारको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा व्यास नगर कमिटीका अध्यक्ष श्रीराम कार्की, संयुक्त दलित उत्थान मन्चका सचिव विनोद विक, क्रियाशिल पत्रकार महिला तनहुँकी अध्यक्ष अन्जना तिमिल्सेना, दलित महिला कल्पना परियार लगायतले पनि जातीय विभेद र कोभिडको कारण सबैभन्दा बढि महिला नै पीडित भएको बताउनुभयो ।
कार्यक्रममा महिला सशक्तीकरण सञ्चार समाज तनहँुकी अध्यक्ष प्रकृति खनाल न्यौपानेले कोभिडको कारण महिलामा परेको पीडा र क्षति तथा हिंसाको प्रकृतिको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सो कार्यपत्रमाथि अधिवक्ता शिवदत्त ढकालले टिप्पणी सहितको सुझाव प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले गर्नुभएको थियो ।