दमौली अस्पतालमा थाइराइड परीक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली अस्पतालमा थाइराइड परीक्षण

    खबरपुञ्ज संवाददाता

    २३ मंसिर २०७७, बुधबार

    तनहुँ : तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा थाइराइडको परीक्षण हुने भएको छ । गण्डकी प्रदेश सरकारले उपकरण उपलब्ध गराएपछि अस्पतालले थाइराइड परीक्षणको तयारी गरेको हो ।

    प्रदेश सरकारले रु दश लाख मूल्य पर्ने उपकरण उपलब्ध गराएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । “अस्पतालमा विभिन्न सेवा थप गर्ने योजना बमोजिम थाइराइड परीक्षण गर्ने उपकरण आइपुगेको छ, केही दिनभित्रै सेवा शुरु गर्छौ,” अधिकारीले भन्नुभयो ।

    अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. सुनिल पौडेल थाइराइड विशेषज्ञ हुनुहुन्छ । उपकरण सञ्चालनका लागि ल्यावका प्राविधिकलाई तालिम दिइनेछ । “उपकरण जडान गर्ने बेलामा इन्जिनियर आएर तालिम दिएपछि लगत्तै सेवा शुरु हुन्छ,” अधिकारीले भन्नुभयो ।

    जिल्लामै पहिलो पटक सरकारी अस्पतालमा थाइराइड सेवा परीक्षण हुनेछ । दमौलीस्थित एक निजी प्रयोगशालामा भने थाइराइडको परीक्षण हुँदै आएको छ । “सरकारी स्वास्थ्य संस्थामै उक्त सेवा शुरु हुने भएपछि महङ्गो शुल्क तिरेर अन्यत्र परीक्षण गर्न जान पर्दैन,” अधिकारीले भन्नुभयो ।

          अस्पतालमा दुई दिन अगाडी मात्रै चार थान भेन्टिलेटर आएको थियो । अस्पतालले विभिन्न सेवा थप गर्दै लगेको छ । हालैमात्र अस्पतालमा दन्त सेवाका लागि डिजिटल एक्सरे मेसिन सञ्चालनमा ल्याइएको छ । अस्पताललाई सुविधासम्पन्न बनाउन पूर्वाधार थप गर्दै लगिएको अधिकारीले बताउनुभयो ।

    विसं २०५९ सालमा अस्पतालको रुपमा स्तरोन्नति भएको दमौली अस्पताल उपकरण थप्ने प्रयासमा जुटेको छ । गत महिना मात्रै अस्पतालमा एनेस्थेसिया उपकरण जडान गरिएको थियो । बिना अक्सिजन शल्यक्रिया गर्न सकिने रु २० लाख बराबरको उक्त मेसिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको थियो ।

    १५ शैय्याको अस्पताललाई ५० शैय्यामा स्तरोन्नतिका लागि प्रदेश सरकार मातहत रहेका दुई सरकारी कार्यालयको जग्गा उपलब्ध गराइदिन मुख्यमन्त्रीसँग अनुरोध गरिएको छ । कृषि ज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट पाँच रोपनी र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वको जग्गामध्येबाट आठ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराउन अस्पताल व्यवस्थापन समितिको माग छ ।

          अस्पतालमा मातहतमा हाल साढे १५ रोपनी जग्गा रहेको र ५० शैय्याको अस्पताल बनाउन कम्तिमा ३५ रोपनी जग्गा आवश्यक पर्ने देखिएको छ । अध्यक्ष अधिकारीले अस्पताल स्तरोन्नति गर्न सकिए विशेषज्ञ सहितको सेवा दिन सकिने बताउनुभयो ।

          अस्पतालबाट हाल ४२ शैय्यामा सेवा प्रवाह भइरहेको छ । अस्पतालको स्तरोन्नति गर्न सकिए सरकारी फिजिसियन, सर्जन, बालरोग, प्रसुतिरोगका विशेषज्ञ डाक्टरको दरवन्दी थप हुनेछ । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याव्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायोलिसस सेवा समेत प्रदान गर्दै आइरहेको छ । विसं २०३४ सालमा स्वास्थ्यचौकीको रुपमा स्थापना र विसं २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ सालमा अस्पतालको रुपमा स्तरोन्नति भएको थियो ।