पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तमु समुदाय (गुरुङ) काे ल्होसार, उधौली र योमरी पूर्णिमाको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । तमु समुदायको महान पर्व ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका दाजुभाई दिदिबहिनीहरुमा सुख, शान्ति, संमृद्धि, सुस्वास्थ्य, आपसि सद्भाव, एकता, भातृत्व एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको हो ।
ल्होसार भनेको नयाँ वर्ष हो । गुरुङ समुदायको प्राचिन पात्रो अनुसार पुस १५ गते मनाउने यस पर्वले नयाँ वर्ष शुरु भएको संकेत गर्दछ । यस अवसरमा समुदायमा नाता कुटुम्बहरु जम्मा भएर भोज खुवाउने र शुभकामना आदान प्रदान गर्ने गरिन्छ ।
मुख्यमन्त्री गुरुङको शुभकामना सन्देशमा लेखिएको छ, सांस्कृतिक परम्पराका धनी नेपालका तमु समुदायले सदियौंदेखि आफ्नो रीति, परम्परा र संस्कृतिको संरक्षण तथा संवर्धन गर्दै आईरहेका छन् । तमु ल्होसारको छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राखेकाे विश्वास लिएको छु ।
मुख्यमन्त्री गुरुङले आजै किराँत धर्मालम्वीको उधौली पर्व, नेवार समुदायको योमरी पुन्हिको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । पर्वको अवसरमा उनले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना जगाई शान्त, समुन्नत तथा समृद्ध नेपाल निर्माणका लागि प्रेरणा प्रदान गर्न सकुन भन्ने कामना गर्नुभएको छ ।