आर्थिक अभाव हाम्रा लागि मुख्य चुनौती बन्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • फिचर

    आर्थिक अभाव हाम्रा लागि मुख्य चुनौती बन्यो

    खबरपुञ्ज संवाददाता

    १५ पुष २०७७, बिहीबार

    साविकको फिरफिरे गाविस स्थानीय तहको पुर्नसंरचना भएपछि शुक्लागण्डकी नगरपालिकाको १२ नम्बर वडा बन्यो । नगरपालिकाको विकटमध्येको एक हो यो वडा । नगरपालिकाका १२ वडामध्ये विकासको दृष्टिले पनि पछाडी परेको वडामा फिरफिरे चिनिन्छ । यो वडाको बागडोर सम्हाल्नुभएकाे छ गण्डकी प्रदेशकै कान्छा वडाध्यक्षको ब्राण्ड बनाउनुभएका मनराज गुरुङले । गुरुङले निर्वाचित भएर आएको झण्डै ४ वर्ष पुग्न आँट्दा फिरफिरेको विकास र समृद्धीका लागि के–के गर्नुभयाे त ? अब के गर्दैहुनुहु्न्छ ? समृद्धीको आधार र चुनौती के हो त ? यहीं पेरीफेरीमा रहेर खबरपुञ्ज डटकमका सहसम्पादक विनोद ढुंगानाले वडाध्यक्ष गुरुङसंग कुराकानी गर्नुभएकाे छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश ।

    संसद विघटनबारे तपाईको धारणा के छ ?
    – मेरो व्यक्तिगत धारणा असंवैधानिक नै भन्ने छ । किनभने संविधानको धारा ७६ को उपधारा (१–७) सम्म जुनसुकै बुँदा हेर्दा पनि यो व्यवहारिक छैन् । मानौँ, केपी ओली नेतृत्वको सरकारले बैशाख महिनामा निर्वाचन घोषणा गरेको छ । त्यसपछि कुनै पार्टीको सरकार बन्ला, एक डेढ वर्षसम्म त्यो सरकारको पनि आलोचना, खिचातानी होला र कुनै प्रधानमन्त्रीले सनकको भरमा अर्को निर्वाचनको मिती घोषणा गर्ला । यस्तै नजिर बस्यो भने देश र जनताका लागी राम्रो त हुँदैन् । तसर्थ यो प्रतिगमनकारी कदम हो ।

    संसद विघटनको घटनाले स्थानीय तहको विकास निर्माण कस्तो असर गर्ला ?
    – यतिबेला हामी समृद्धी र विकासको अभियानमा थियौँ । जनताले देखेको समृद्धीको सपना पुरा गर्ने अभियानमा भएकाले गाउँका जनतामा राजनीतिक खिचातानी त्यति थिएन् । काम गर्दै जाँदा कसैको कमीकमजोरी भईहाले खबरदारी गर्ने भन्ने मात्र थियो । अब त खुट्टा तान्ने र काम गर्न नदिने प्रवृत्ती हाबी हुन्छ । जनता कार्यकर्तामा रुपान्तरण हुन्छन् र यसले विकास निर्माणमा ठुलै असर पार्छ ।

    अब प्रसंग बदलौँ, तपाई वडाध्यक्षमा निर्वाचित भएर कार्यभार सम्हालेको झण्डै ४ वर्ष पुग्न लाग्यो । यो अवधिमा फिरफिरेको समृद्धीका लागी के–के काम गर्नुभयो ?
    – विकासलाई ३ भागमा विभाजन गरी काम गरिएको छ । भौतिक पुर्वाधारतर्फ मोटरबाटो नपुगेका आधा दर्जन गाउँमा मोटरबाटोले जोड्न सफल भएको छु । प्रदेश सरकारसंग समन्वय गरेर वडा कार्यालय जाने मुख्य बाटो झण्डै २ किलोमिटर कालोपत्रे सुरु गरिसकेका छौँ । नगरपालिकासंगको समन्वयमा ४ किलोमिटर जति स्तरोन्नती भएको छ । यसपाली पनि स्तरोन्नतीले निरन्तरता पाउनेछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थासंग मिलेर धेरै गाउँमा एक घर एक धाराको प्रबन्ध मिलाएका छौँ । दर्जन बढी सामुदायिक भवन बनेको अवस्था छ । विद्यालयको पुर्वाधार विकासले गति लिएको छ ।
    कृषीतर्फ वडालाई बाख्राको नमुना गाउँ बनाउने उदेश्यले केही गाउँलाई नमुना बनाउन हामी निर्वाचित भएर आएको आर्थिक वर्षदेखी निरन्तर लागिरहेका छौँ । यो वर्ष नमुना गाउँ घोषणा गर्ने प्रक्रिया अगाडी बढिरहेको छ । वडामा अधिकांश पहाडी भुभाग र बसाईसराईले जमिन बाँझो रहेको हुँदा त्यसको उपयोग गर्दै कागती खेतीलाई व्यवसायिक रुपमा अगाडी बढाउनलाई एउटा कागतीको बिरुवा बराबर १ सय रुपैयाँ तीन वर्षसम्म अनुदान दिने कार्यक्रम बनाएका छौँ । वडाको रेकर्ड अनुसार झण्डै १० हजार कागतीका बिरुवा वितरण भएको छ । स्थानीय जातका कुखुरा संरक्षणदेखी निर्वाहमुखी कृषी पेशालाई व्यसायीक उन्मुख बनाउन लागेका छौँ ।
    ग्रामिण पर्यटनतर्फ ढोर लामागाउँ र घरेडीमा होमस्टे बनाएका छौँ । होमस्टेमार्फत ग्रामिण पर्यटनको प्रबद्र्धन गर्न ‘जाऊ है फिरफिरे’ अभियान चलाईएको छ । मिलेनियम गुफामा पुर्वाधार थपको काम भईरहेको छ ।

    के यत्ति कामले मात्रै जनताको अपेक्षा पुरा होला र ?
    – जनताको अपेक्षा असिमित छ । असिमिति अपेक्षा पुरा गर्ने सिँढी चाहीँ बनेको छ, पुरा हुन बाँकी नै छ । खासगरी ‘उद्यमी युवा, सम्बृद्ध फिरफिरे’ र ‘जाऊ है फिरफिरे’ नारा बोकेर जनताको काम गरिरहँदा जनताको अपेक्षासम्म पुग्ने आधार बनाएको छौँ भन्ने लाग्दछ ।

    तपाईको वडा नगरपालिकामा भएपनि अधिकांश ग्रामिण भेग छ । बसाईसराईले गाउँबस्ती रित्तिन थाले । यो क्रम रोक्नलाई केही योजना बनाउनुभा’छ ?
    – बसाईसराईको मुख्य कारण रोजगारी हो । दोस्रोमा शिक्षा पर्छ । बालबच्चा पढाउनलाई बजार झर्नुपर्छ भन्ने आम मान्यता छ । यी दुई आवश्यकतालाई गाउँमै व्यवस्थापन गर्न सक्यौँ भने बसाईसराईलाई कम गर्न सकिन्छ । यसलाई मध्यनजर गर्दै सामुदायिक विद्यालयको शैक्षिक सुधारलाई विशेष फोकस गरिएको छ । प्रविधी र व्यवहारिकतासंग शिक्षालाई जोड्नुपर्छ भन्ने अभियान अगाडी बढाईएको छ । र रोजागारीका लागी कृषीसंग सम्बन्धीत उत्पादनसंग जोडेर स्वरोजगार बनाईयो भने गाउँमै रम्छन् । त्यसका लागी जनतालाई कृषी, पशुपंक्षीका कार्यक्रम, होमस्टे सञ्चालनसंग जोडेका छौँ । पहिलोको तुलनामा बसाईसराई रोकिएको पनि छ । उल्टै बजारबाट गाउँ उक्लिएर अब गाउँमै केही गर्नुपर्छ भन्ने चेतना बढेको पनि देख्न सकिन्छ ।

    सदैव कृषीलाई प्राथमिकता दिनुपर्छ भन्ने धारणा त राख्नुहुन्छ । खास तपाईको वडाबासीले कृषिमा कत्तिको चासो दिन्छन् ?
    – हाम्रो वडा ग्रामिण भेगमा पर्दछ । यहाँ कलकारखाना, बजार नभएकाले कृषीभन्दा अरु उपाय नै छैन् । जसरी परम्परागत तरिकाले कृषि गरिएको थियो । निर्वाहामुखी तरिकाले गरेको कृषिले निराश भएका कृषकलाई हौसला दिएर व्यवसायमुखी तरिकाले गर्नुपर्छ भन्दा हर्षित हुनुहुन्छ । खासगरी विदेशबाट फर्किएका र बजारबाट उक्लिएका फिरफिरेबासी कृषि नै आम्दानीको अन्तिम उपाय हो भनेर लाग्नुभएको छ ।

    कृषकलाई अनुदान पनि राम्रै वितरण गरिन्छ तपाईको वडामा, के अनुदान परिणाममुखी देखिएको छ त ?
    – नेपालको परिवेशमा के देखिन्छ भने अनुदानका लागि कृषि कर्म गरेजस्तो गर्ने । र त्यसको प्रक्रिया पुरा भएपछि निरन्तरता नदिने राष्ट्रिय समस्याको रुपमा खडा भएको छ । यो समस्या हामीकहाँ पनि हुन सक्छ भनेर निर्वाहमुखी किसानलाई व्यवसाय उन्मुख बनाउन अनुदानको प्याकेज देखाएर व्यवसाय उन्मुख बनाउन खोज्छौँ । व्यवसाय उन्मुख भएका किसानलाई अनुदान दिदैनौँ । अनुदान दिएको अनुगमन गर्दा चाहीँ राम्रै परिणाम देखिन्छ ।

    विकास निर्माणमा जनसहभागिता कस्तो छ ?
    – ठुला मोटरमार्गको काम गर्ने बेलामा समस्या छ । खानेपानी, सामुदायिक भवन निर्माणदेखी लिएर जनताको दैनिक आवश्यकतासंग जोडिएका विकास निर्माणमा उल्लेख्य जनसहभागिता पाइन्छ ।

    फिरफिरेलाई समृद्ध बनाउने आधार र चुनौती के–के हुन् ?
    – फिरफिरेलाई समृद्ध बनाउने मुख्य आधार दुलेगौँडा लामागाउँ मोटरमार्ग हो । यसलाई कालोपत्रे गर्नुपर्छ, स्तरोन्नती गर्नैपर्छ भनेर प्रदेश सरकार र नगरपालिकालाई घच्घचाईरहेका छौँ । त्यसपछि बसाईसराईले खाली भएका गाउँ र बाँझो जमिन हो । यसलाई हराभर बनाउन गण्डकी प्रदेश सरकारसंग समन्वय गरेर गत आर्थिक बर्षदेखी चिनियाँ परियोजना ल्याउनलाई लागिपरेका छौँ । यो परियोजनाले सार्थकता पाएमा फिरफिरेलाई समृद्ध बनाउन सघाउँछ । ग्रामिण पर्यटनका लागि मिलेनिय ट्रेक र गुफा पनि सम्भावनाको आधार हो । वडाले तमुहिल पार्कको अवधारण अगाडी सारेको छ । निर्माणको प्रक्रिया यो आर्थिक वर्षबाटै सुरु हुन्छ । आर्थिक अभाव हाम्रा लागि मुख्य चुनौती बनेको छ । फिरफिरेको समृद्धीका लागि विभिन्न योजना अगाडी सार्दै गर्दा आवश्यकता अनुसार सरकारले बजेट विनियोजन गर्न नसक्नुले चुनौती थपिदिन्छ ।

    अन्त्यमा, तपाईको कार्यकाल सकिदासम्म फिरफिरे बस्तो बन्नेछ ?
    – सबै जनताको घरमा खानेपानीको धारा पुग्नेछ । सबै गाउँमा स्तरोन्नतीसहितको मोटरबाटोले छुनेछ । सामुदायिक विद्यालयमा खस्किएको गुणस्तर निकै माथी उठ्नेछ । एक घर एक उत्पादनमा फिरफिरेबासीलाई जोडेका हुनेछौँ । १० हजारभन्दा बढी बाह्य तथा आन्तरिक पर्यकटले फिरफिरे घुमेर फर्कनेछन् । समग्रमा हामीले परिकल्पना गरेको सुन्दर नमुना गाउँको आधारभूत आवश्यकता पुरा भएको गाउँको रुपमा विकास फिरफिरे विकास हुनेछ ।