चुँदेरमा दुई महिनाभित्र घर-घरमा खानेपानी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चुँदेरमा दुई महिनाभित्र घर-घरमा खानेपानी

    खबरपुञ्ज संवाददाता

    १९ पुष २०७७, सोमबार

    तनहुँ : अमेरिकास्थित रोटरी क्लव अफ होनोलुलु सनसेट र व्यास नगरपालिकाको संयुक्त लगानीमा तनहुँको व्यास नगरपालिका–५ चुँदेरमा खानेपानी योजना निर्माण शुरु भएको छ । वर्षौदेखि खोलाको पानी उपयोग गर्दै आएका यहाँका वासिन्दाका घर–घरमा खानेपानी पु¥याउने उद्देश्य सहित रोटरी चुँदेर खानेपानी योजनाको शिलान्यास गरिएको छ ।

    उक्त ठाउँमा रु एक करोड १६ लाख ४० हजारको लगानीमा खानेपानी योजना निर्माण हुन लागेको हो । रोटरी क्लव अफ दमौलीको सक्रियतामा उक्त ठाउँमा खानेपानी योजना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो । “उक्त ठाउँको खानेपानी समस्या बारेमा जानकारी पाएपछि स्थलगत सम्भाव्यता अध्ययन ग¥यौ, अध्ययनले उक्त ठाउँमा खानेपानी योजना निर्माण गर्न सम्भव रहेको देखिएपछि योजनाको काम थालेका हौ,” रोटरी क्लव अफ दमौलीका अध्यक्ष दामोदर भण्डारीले भन्नुभयो ।

          खानेपानी योजना निर्माणका लागि अमेरिकास्थित रोटरी क्लव अफ होनोलुलु सनसेटले रु ८४ लाख ८१ हजार ६ सय ६७ सहयोग गरेको छ । खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्मार्ट सिभिल कन्सल्टेन्सीले तयार गरेको थियो । योजनाका लागि रोटरी क्लव अफ दमौलीले रु तीन लाख ४२ हजार सहयोग गरेको छ ।

          खानेपानी योजनाको आज रोटरी क्लव ३२९२ का निवर्तमान गर्भनर किरणलाल श्रेष्ठ र व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । रोटरीले सन् २०३० सम्म नेपालमा स्वच्छ खानेपानी सुविधा पु¥याउने उद्देश्य सहित सरकारी निकायसँग समन्वय गरेर खानेपानीको क्षेत्रमा काम गर्दै आइरहेको रोटरी क्लव ३२९२ का निवर्तमान गर्भनर श्रेष्ठले बताउनुभयो । नेपालको शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा रोटरी क्लवले सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

    व्यास नगरपालिकाका प्रमुख न्यौपानेले खानेपानी नभएका कारण वेशी झरेका यहाँका स्थानीयवासी अब गाउँ फर्किने विश्वास व्यक्त गर्दै खानेपानी योजनाका लागि सहयोग गरेकामा रोटरीप्रति आभार व्यक्त गर्नुभयो । नगरप्रमुख न्यौपानेले नगरवासीलाई स्वच्छ खानेपानी सुविधा उपयोग गराउन नगरपालिका पनि लागिपरेको बताउनुभयो ।

    संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले रोटरीले नेपालको विभिन्न क्षेत्रमा पु¥याउँदै आएको सहयोग सकारात्मक रहेको बताउनुभयो । व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले डाँडामा बस्ती र मुहान तल रहेका कारण चुँदेरमा वर्षौदेखि खानेपानी समस्या रहँदै आएकामा योजना सम्पन्न भएपछि स्थानीयवासीलाई सहज हुने बताउनुभयो ।

    खानेपानी योजनाबाट व्यास नगरपालिका–५ स्थित चुँदेर, रानीटारी र नेपालटारका दुई सय २९ घरका एक हजार एक सय आठ जना लाभान्वित हुनेछन् । उक्त योजनाबाट २० घर दलित, एक सय २१ घर जनजाति, तीन घर मुस्लिम र ८५ घर अन्य जातजातिका मानिस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।

    २ सय ५४ मिटरको दूरीमा रहेको मुहानबाट पानी ल्याई ट्याङ्कीमार्फत् घर घरमा पानी वितरण गर्ने गरी डिजाइन गरिएको छ । एक घण्टामा दश हजार लिटर पानी तानिनेछ । उक्त ठाउँमा दैनिक एक लाख आठ हजार ६ सय २९ लिटर पानी आवश्यक पर्ने अध्ययनबाट देखिएको छ । योजनामा ३० मिटरको ट्रान्समिसन लाइन, ५ सय ८० मिटर वितरण लाइन निर्माण गरिनेछ भने तीन वटा मुहान मर्मत गर्नुपर्ने देखिएको छ । चुँदेरमा २० घनमिटरको ट्याङ्की निर्माण गरेर सोही ट्याङ्कीबाट रानीटारीमा पानी वितरण गर्ने योजना छ ।

    दुई महिनाभित्र खानेपानी योजना सम्पन्न गरेर घर घरमा धारा मार्फत् पानी पु¥याइने लुसेन्ट ड्रप नेपालका इन्जिनियर प्रकाश शर्माले जानकारी दिनुभयो ।