तनहुँ : तनहुँको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीमा पृथ्वीजयन्ती मनाइएको छ । नेपाली सेनाका संस्थापक समेत रहेका आधुनिक नेपालका परिकल्पनाकार पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै पृथ्वीजयन्ती मनाइएको हो ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख सविता रसाईलीले इतिहासलाई कसैले बिर्सन नहुने बताउनुभयो । उहॉले पृथ्वीजयन्तीका दिन मात्र नभएर हरेक दिन पृथ्वीनारायण शाहको चर्चा र सम्मान गर्नुपर्ने आवश्यता औल्याउनुभयो । उहॉले भन्नुभयो, “उहाँका दिव्य उपदेशको मनन गर्न सकेमा मुलुक विकसित हुनेछ ।”
बाहिनीपति साहयकरथी कुमारबाबु थापाले रणनीति र कुटनीतिको मामलमा पृथ्वीनारायण शाह अब्बल रहेको बताउनुभयो । उहॉले नेपाली सेनाले राष्ट्रव्यापी रुपमा पृथ्वीजयन्ती मनाउँदै आएकामा यसपाली कोरोनाको कारण स्थानीय तहसँग समन्वय गरी मनाएको जानकारी दिनुभयो ।
कार्यक्रममा सहायक बाहिनीपति महासेनानी उत्तम खड्काले पृथ्वीनारायण जीवनीबारे प्रस्ट्याउनुभएको थियो । अघिल्लो महिनामात्रै श्री नम्बर ३ बाहिनीमा पृथ्वीनारायणको पूर्णकदको शालिक अनावरण गरिएको थियो । सोमबार पृथ्वीजयन्तीको अवसरमा भएको कार्यक्रममा शालिकमा माल्यार्पण समेत गरिएको छ ।