तनहुँ : नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले खरिद गर्न लागेको एम्बुलेन्सका लागि रु २० लाख सङ्कलन भएको छ । उपशाखाको मङ्गलबार आयोजित साधारणसभामा उक्त जानकारी गराइएको हो ।
सामुदायिक एम्बुलेन्स अभियानमा हालसम्म रु २० लाख रकमको प्रतिबद्धता भएको र एम्बुलेन्स खरिद प्रकृयाका लागि सिफारिस भइसकेको अर्थ सङ्कलन समितिका संयोजक इश्वर पौडेलले जानकारी दिनुभयो । आगामी तीन महिनाभित्र एम्बुलेन्स सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
यसैबीच साधारण सभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले रेडक्रसको सिद्धान्त बमोजिम दुःखमा सहयोग गर्ने र आपत परेको बेला रेडक्रस सम्झिने भएकाले सिद्धान्त बमोजिमको कार्यमा दुम्सीकोट उपशाखा अगाडि बढेको बताउनुभयो ।