दुलेगाैडा : जस्ताले छाएको पुरानो दुई तलको तीन कोठे घर, ठाउँ–ठाउँमा चर्किएको छ । पिँढीको एउटा छेउमा मैला कपडाको चाङ । घरमूली बसाई सरे जस्तै देखिने आँगन । आँगनको छेवैमा पानीको धारो । धनमाया गुरुङ (५३) र खमबहादुर गुरुङ (३८) वर्षौदेखि यहीँ परिवेशमा बाँचिरहनुभएको छ । पूर्ण रुपमा मानसिक अपाङ्ग रहनुभएका उहाँहरु सहोदर दिदीभाई हुनुहुन्छ ।
बाबु आमा गुमाईसके । आफन्त बसाई झरे । आफन्त र गाउँलेको संरक्षण धेरैथोरै पाउनुभएको छ । तैपनि गाउँको बिचको घरमा उहाँहरु एक्लो हुनुहुन्छ । आफ्नो छुट्टै संसार होला उहाँहरुको । गुरुङ भाषा मात्र बुझ्नुहुन्छ रे । कसैले केही सोधेमा जवाफमा मुस्कान दिन्छन् । तर, त्यो मुस्कान फिक्का लाग्छ, जब उहाँहरुको दर्दनाक अवस्था बुझिन्छ ।
‘भोक लाग्यो समेत भन्न जान्दैनन् । कहिलेकाँही त जुठेल्नामा फ्याँकेको खाना टिपेर पनि खान्छन्,’ घर नजिकका एक छिमेकीले भन्नुभयो । उहाँहरुका दाजु खेमराजले बजारबाट चामल पठाइदिनुहुन्छ । छिमेकीले पु¥याएर दिन्छन् । ती छिमेकीका अनुसार घरमा भएका सरसामान एकै पटक आवश्यकता बढी पकाइदिन्छन् । न खाने समय हुन्छ न सुत्ने । सायद जति बेला मनले जे भन्छ त्यही गर्छन् ।
यी दुई दिदीभाईलाई शुक्लागण्डकी नगरपालिकाले घरमै पुगेर अपाङ्गता परिचयपत्र दिएको छ । नगरपालिकाकी सामाजिक विकास शाखा प्रमुख हिमा पोखरेल, शुक्लागण्डकी–२ का वडाध्यक्ष जगतबहादुर गुरुङ, ढोर फूलबारी शहिद अस्पतालकी डा. प्रतिक्षा आले लगायतको टोलीले शुक्लागण्डकी–२ राङ्दीस्थित उहाँहरु बस्ने घरमा पुगेर ‘क’ वर्गको रातो अपाङ्गता परिचयपत्र दियो
‘नगरपालिकाको कार्यालयसम्म ल्याउन नसक्ने अवस्था छ भनेपछि घरमै पुगेर परिचयपत्र दियौँ,’ सामाजिक बिकास शाखा प्रमुख पोख्रेल भन्नुहुन्छ, ‘त्यहाँ पुग्दा अवस्था एकदमै दर्दनाक स्थिति देख्यौँ ।’
रातो कार्ड पाएपछि सरकारले उहाँहरुलाई मासिक रु तीन हजारका दरले सामाजिक सुरक्षा भत्ता दिनेछ । भत्तामा पाउने रकम उहाँहरुका लागि सार्थक नहुने बताउनुहुन्छ पोख्रेल । उहाँ भन्नुहुन्छ, ‘परिचयपत्र दिँदैमा जीवनस्तर सुधार हुने देखिदैन् । उनीहरुलाई त संरक्षणको खाँचो छ ।’ संरक्षक र सरकारले उनीहरुको लालनपालन, सरसफाई, स्वास्थोपचारमा ध्यान दिनुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।
जन्मजात पूर्ण रुपमा मानसिक अपाङ्गता भएका यी दुईले पहिलो पटक परिचयपत्र पाएका हुन् । नगरपालिकाले कार्यालयमा पटक–पटक परिचयपत्र वितरणका लागी शिविर गरिरहन्छ । त्यहाँसम्म लैजान नसक्दा अहिलेसम्म परिचयपत्र नबनेको दाजु खेमराजले सुनाउनुभयो । ‘गाडीमा चढाएपछि रोईदिने । त्यहाँबाट भागेर बेपत्ता भईदिने गरेपछि परिचयपत्र बनाउन सकेका थिएनौँ,’ उहाँले भन्नुभयो । नगरपालिकाको टोली घरमै पुगेर परिचयपत्र दिएपछि उहाँले स्थानीय सरकारको महत्व बुझेको बताउनुभयो ।
हालसम्म शुक्लागण्डकीले ६ सय ५६ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । सामाजिक विकास शाखाको तथ्याङ्क अनुसार १ सय ६५ जनालाई ‘क’ (रातो), २ सय ६५ जनालाई ‘ख’ (निलो), १ सय ४४ जनलाई ‘ग’ (पहेलो) र ८२ जनालाई ‘घ’ (सेतो) वर्गको परीचयपत्र वितरण गरिएको छ । रातो परिचयपत्र पाउनेले मासिक रु तीन हजार र रातो पाउनेले रु दुई हजार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्छन् । पहेँलो र सेतो परिचयपत्र भएकालाई शिक्षा, स्वास्थ्य उपचार, यातायात लगायतमा छुटको व्यवस्था हुन्छ ।