विश्वासको प्रार्दुभाव…
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    विश्वासको प्रार्दुभाव…

    वि वि श्रेष्ठ

    २२ चैत्र २०७७, सोमबार


    नयनको त्यो स्वप्नदष्ट्राले सामिप्यता खोजिरहेको थियो, लाग्दथ्यो कि यहि कतै छ । वायुको कम्पन सँगै पनि त्यो त्यहि कतै लुकेर चियाईरहेको होला । वस्तुको भौतिकतामा हैन, स्पर्शमा नै रम्न र खोज्न वानी परेको आभासले सायद जीवन नै व्यतित भईदियो । भौतिक उपस्थिती भन्दा अन्तरआत्माको स्पर्श नै जीवनको महत्वपुर्ण पाटो वनिदियो । विश्वासको सम्वन्ध मा आत्मिक सम्वन्ध नै प्रगाढ वनिदियो । लाग्दछ, यहि निरन्तरतामा नै जीवनको ईहलिला समाप्त हुनेछ । पश्चतापको भुमरी फिक्का सावित हुनेछ । सम्वन्धका गहिराई र विश्वासको वातावरणले धर्तिका सम्पुर्ण भौतिकताहरु धुमिल वनेर जानेछन् ।

    पल सँगै धेरै वस्तु विलिन भयो । चलायमानको यो रफतारमा धेरै कुरा फेरिए । धर्तिमा अनेकौ फुलहरु फुले, झरे । क्रमिकता रोकिएन, तर सधै झयालवाट चियाउने झयालका सामाग्रीहरु नाश भएर गए, तर त्यहि नयनको दोष भने मेटिएन, न ओईलाएन, वाहिरी सुन्दरतामा परिवर्तन देखिए तर नयनको त्यो चाहनामा भने कमि भएन, लाग्दथ्यो, यो नै धर्तिको अजर र अमर वस्तु हो । जुन नाशवान होईन । विश्वासको सम्वन्धमा फुलेको त्यो सोन्र्दयता कहिल्यै मर्ने छैनन् । दुखको सागरमा भौतिक साथ र सहयोगको अपेक्षा अन्यथा भएन, सवैमा झै हुने त्यो आश मरेन, तर भौतिक उपस्थितीको समागम भन्दा आत्मिक एकतात्मकताले भौतिकतालाई हल्लाउन सकेन । हुरी वतासको त्यो हुण्डरीले उडाउन सकेन । लोभि नयनहरुले छुन सकेन । संसारको कुनै शक्तिले रोक्न सकेन, लाग्दथ्यो यहि नै सुन्दर आत्मा हो । यहि आत्माको असन्तुलनले खोजिएको सन्तुष्टि यहि विश्वासले प्रमाणित गरिदियो ।

    सजिव प्राणी के चाहन्छ ? विशेश गरि मानव आत्मा के चाहन्छ ? प्रश्नको अनुत्तरिताले पिछा गरिरह्यो । धर्तिले सोधेका अनुत्तरित प्रश्नहरु मात्र होईन, आत्मिक अनुत्तरित प्रश्न जीवनका साध्य रहेछन् । मस्तिष्क र आत्मा वीचको असन्तुलन नै जीवनको भौतिक दुख रहेछन् । सोचको कुरुपताले जीवनमा दुख र पीडाको कारक वन्ने रहेछ । शरिरको अंग उहि, तर सोचका विविधताले यसको स्वरुप देखिने रहेछ । त्यहि सोचले जीवन सफल हुने र त्यही सोचले जीवन असफल दर्ज हुने रहेछ, फरक त केवल सोचमा हुने चेतनाको अवशेष मात्र रहेछ । वर्षाको त्यो मुसलधारेमा पनि त्यहि आवाज गुन्जिए जस्तो, चराको त्यो कुहुकुहुले पनि आफैलाई वोलाएजस्तो लाग्यो, प्रत्येक पलहरु पर्खाईमा रहे, नयनले भौतिक उपस्थिती खोज्ने असंख्य कोशिषहरु गरिरहे, तर त्यो कोमल ह्दयमा विलिन भएर गईदियो । दिन र रातको कुनै फरकपन रहेन, फरक रहे त केवल भौतिकतामा मात्र । सोच र आत्मामा समेत समान देखिने वस्तुमा लुकेको विश्वास भनेको आत्मिक शिवाय केहि थिएन, यहि आत्मिक भित्रको विश्वासको पराकम्प सायद अव धर्तिको कुनै शक्तिले हल्लाउन सक्ने छैनन् । रुख होस वा वार्दलीमा, कुनै कुनामा लुकेर हेरिरहेको जस्तो लाग्ने आत्मामा कहिले विर्को लाग्ने होला ? धर्तिका असंख्या जीवमा जीवनको परिभाषा फरक होला, समान मानव आत्मामा शैलीको समानता भएता पनि सोच र विश्वासको विविधता भने कदापी समान हुन सक्ने रहेनछ ।
    भौतिकताको प्रभावमा झेलिएको यो जीवन र समयको गतिभित्र परिवर्तित शरिरको भौतिक संरचनाले सोचको त्यो एकात्मकतामा प्रभाव पार्ला या नपार्ला ? हरेक धुन मायाको जस्तै लाग्ने मस्तिष्कहरु उमेरको उचाईसँगै परिवर्तन होला कि नहोला ? झयाल सँगै भत्किएर गएको घरको संरचना विलिन भएता पनि विश्वासको त्यो स्पर्श स्वखलित होला कि नहोला ? आत्मिक संरचना समान भएता पनि चेतनाको प्रभावले जीवनको परिभाषा नै वदलिने रहेछ भन्ने सोचले त्यो कोमल ह्दयमा देखिएको विश्वास टुटला कि नटुटला ?

    आभासको अपर्याप्ततामा नै जीवन ढल्किदा सोचमा देखिने चेतनाको प्रभाव भुत्ते होला कि नहोला ? खोल्सामा नै सहि हजारै पानीका कण वगे, निरन्तर वगे, त्यो कति विलिन भयो, भएन त्यो कसले लेखाजोखा गर्ला ? पखाईमा रसाएका आँखावाट वगेको आँशुले लाग्दछ, त्यो समुन्द्र नै त्यहि हो, जुन आत्माको कोमल ह्दयमा अभाववाट प्रार्दुभाव भएको सुचकहरु हुन् । जुन निरन्तर वगे र वगिरहनेछ । उपयोगिताको चरमतामा रगडिएको यो स्वार्थ समाजवाट त्यो निश्चल आत्मा किन डगमगाउन सकेन ? अनुत्तरित प्रश्नहरु जीवन रहँदा सम्म रहिरहनेछ । वालापनको त्यो हठ वा कोमल ह्दयको त्यो पुकार, त्यसले विकास गरेको यो जटिलता पनि किन सहज लागिरहेको छ ? संसारको भौतिक तथा स्वार्थ सँग लड्ने आँट केवल वालहठ मात्र थियो र ? जीवनको निश्चित अवधि सकिएर धर्तिमा विलिन हुदाँ पनि त्यो कोमल ह्दय भित्र वाट प्रार्दुभाव भएको विश्वासको स्पर्श रहला कि नरहला ? त्यहि धर्तिमा पुगेर भत्किएको अवशेष वाट पनि त्यो नयनले मलाई कहि कतै खोज्ला कि नखोज्ला ?