तनहुँ : तनहुँको दमौली आसपासका ग्यारेजमा अक्सिजनका सिलिण्डर जथाभावी रुपमा फालिएको भेटिएको छ । कोभिड सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिण्डर अभाव भइरहेको बेला दमौलीका ग्यारेजहरुमा भने जथाभावी रुपमा सिलिण्डर फालिएको भेटिएको हो ।
प्रयोगमा आएका सिलिण्डर जथाभावी रुपमा फालिएको तस्वीर नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष उज्वल पौडेलले फेसबुकमार्फत् सार्वजनिक गर्नुभएको छ । ग्यारेज क्षेत्रमा रहेका अक्सिजन सिलिण्डरमात्र एकत्रित गर्न सकेपनि अहिलेको महामारीसँग जुध्न धेरै सहयोग हुने पौडेलले बताउनुभयो । “यत्रतत्र फालिएका सिलिण्डरको समुचित प्रयोगका लागि प्रमुख जिल्ला अधिकारीसँग कुरा गरेको छु, सकारात्मक जवाफ प्राप्त भएको छ,” पौडेलले भन्नुभयो ।
अक्सिजनको सिलिण्डर ग्यारेजमा फलाम काट्न, हाइड्रो कम्पनीमा वेल्डिङ र सुन पसलहरुमा प्रयोग हुँदै आएको छ । कतिपयले भने घरमा पनि राख्ने गर्नाले अहिले सिलिण्डर अभाव भएको सार्वजनिक हुँदै आएको छ ।