तनहुँ : गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहत आँबुखैरेनीमा रहेको कृषि तथा पशुपंक्षी नियमन इकाई कार्यालयका प्राविधिक सहायक दिनकरमणि आचार्यले आइतबार दिउँसो ४ बजे सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभयो – एम्बुलेन्स चाहियो अर्जेन्ट, श्वास फेर्न गाह्रो भयो ।
उहाँले सन्देश लेख्नेबित्तिकै आँबुखैरेनी गाउँपालिकाको टिम एम्बुलेन्स खोज्नेतिर लाग्यो । गाउँपालिकामा तीन वटा एम्बुलेन्स भएपनि तत्कालै एम्बुलेन्स भेटिन गाह्रो भयो । गाउँपालिकाको टिम छिमेकी जिल्लामा समेत एम्बुलेन्सको खोजीका लागि जुट्यो । धेरै बेरको प्रयासपछि एउटा एम्बुलेन्स भेटियो ।
एम्बुलेन्स व्यवस्थापनका लागि गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा स्वयं खटिनुभएको थियो । गाउँपालिकाले गठन गरेको सिआइसिटी टिमको सहयोगमा एम्बुलेन्स व्यवस्थापन भएपछि अध्यक्ष थापा कार्यालयमा पुगेर आचार्यलाई उद्धार गरी काठमाडौ पठाउनुभएको छ ।
“श्वासप्रश्वासमा समस्या भएपछि उहाँलाई एम्बुलेन्समार्फत् काठमाडौ पठाइएको छ, एम्बुलेन्सको खर्च पनि गाउँपालिकाले नै बेहोर्छ,” अध्यक्ष थापाले भन्नुभयो ।