तनहुँ : गण्डकी प्रदेश नीति तथा योजना आयोगमा तनहुँ म्याग्देका डा. सुवास अधिकारी नियुक्त हुनुभएको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई आयोग सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सदस्य अधिकारीलाई आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले सोमबार सपथ ग्रहण गराउनुभयो । आयोगका अध्यक्ष समेत रहनुभएका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री कुमार खड्काको उपस्थितिमा उपाध्यक्ष काफ्लेले सपथ गराउनुभयो।
३८ वर्षे अधिकारी युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेजबाट वातावरण विज्ञानमा विद्यावारिधि हुनुहुन्छ । उहॉले भारतको बैंगलोर युनिभर्सिटी भारतबाट माइक्रो बायोलोजीमा स्नातक गर्नुभएको छ । युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेजबाट एक्सलेन्ट इन्टरनेसनल स्टुडेन्ट अवार्ड समेत प्राप्त गर्नुभएको छ ।
आयोगमा असार ५ गते नै उपाध्यक्षमा तनहुँका डा. रघुराज काफ्ले नियुक्त हुनुभएको थियो। ३ सदस्यीय आयोगमा १ पद अझै खाली नै छ ।