डेनमार्कको उच्च मनोबल, इङ्ल्यान्डको उत्कृष्ट लय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    डेनमार्कको उच्च मनोबल, इङ्ल्यान्डको उत्कृष्ट लय

    खबरपुञ्ज संवाददाता

    २२ असार २०७८, बुधबार

    एजेन्सी : जारी युरो कप २०२० अन्तर्गत आज बुधवार मध्यरातमा दोस्रो सेमी फाइनल खेलको तालिका रहेको छ । इङ्ल्यान्डको राजधानी लन्डनस्थित ‘वेम्बली’ मैदानमा आज राती युरोपियन फुटबलका दुई ‘अन्डरडग’ राष्ट्र इङ्ल्यान्ड र डेनमार्क आमने सामने हुँदै छन्।

    सन् १९६६ को विश्वकप विजेता इङ्ल्यान्ड र सन् १९९२ को युरो कप विजेता डेनमार्क बिचको आजको खेल निकै नै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

    डेनमार्क र इङ्ल्यान्ड दुवैलाई यो प्रतियोगिता आ-आफ्नो तरिकाले विशेष बनेको छ। समूह चरणको पहिलो खेलमा नै ड्यानिस सुपरस्टार क्रिस्टियन एरिकसन मैदानमा अचेत अवस्थामा पुगेका थिए। हृदयघातका कारण मैदानमा ढलेका एरिकसनको दुःखद घटना पश्चात् डेनमार्कले उनका लागि यस प्रतियोगिताका बाँकि खेल खेल्ने निधो गरेको थियो।

    त्यस पश्चात् डेनमार्कको प्रदर्शनीले साँच्चै सबैलाई स्तब्ध बनाएको छ। युरो कप इतिहासमै डेनमार्कले लगातार ३ खेलमा जित निकालेको यो पहिलो पटक हो। अझै डेनमार्कले यस प्रतियोगितामा ११ गोल गरिसकेको छ। यो संख्या कुनै पनि प्रतियोगितामा ड्यानिस टोलीले प्रहार गरेको सर्वाधिक गोल संख्या हो।

    उता सन् १९६६ विश्वकप फाइनल पछि कुनै पनि प्रमुख प्रतियोगिताको फाइनल पुग्न नसकेको इङ्ल्यान्डले घरेलु मैदानमा पहिलो पटक युरो कप उपाधि उचाल्न चाहन्छ। क्वार्टर फाइनल खेलमा युक्रेनविरुद्ध ४-० गोलको जित दर्ता गरेको इंग्लिश टोलीले यस प्रतियोगितामा कुनै पनि गोल खाएको छैन।

    प्रतियोगिता अन्त्य नहुँदै इङ्ल्यान्डका गोलरक्षक जोर्डन पिकफर्डले ‘गोल्डेन ग्लोभ’ जितिसकेका छन्। यस प्रतियोगितामा आफ्नो पोस्टमा १ गोल पनि हुन नदिएको इङ्ल्यान्डको रक्षापंक्तिको आज परीक्षा हुने निश्चित देखिन्छ।