दुलेगाैडा : चैतमा रोपेको धानको बाला लहलह झुल्दै थियो । थन्क्याउने तयारी गर्दै हुनुहुन्थ्यो शुक्लागण्डकी नगरपालिका–१० पिप्लेडिहीका कृष्णराज पौडेल परिवार । १५ मुरी बढी चैते धान थन्काउने उहाँको सपना गत बुधबार राति परेको भीषण बर्षाले बगाईदियो ।
‘१५ मुरी आउने खेतमा धान पाकेको थियो । २५ मुरी फल्ने खेतमा भर्खर रोपेका थियौँ । मकै पनि पाकेको थियो । केही नरहने गरी माथिबाट आएको पहिरोले खेत बगर बनाएको छ,’ उहाँले भन्नुभयो ।
उहाँको धानखेत वरपर त्यति ठूलो खोला छैन् । चैते धान रोप्नलाई खोल्साको पानीले मुस्किलले सिचाइँ सुविधा पुग्छ । बाढी पहिरो खस्ने अनुमान गर्न सकिदैन्थ्यो । तर, खेत भन्दा निकै माथिबाट खसेको पहिरोले हरियो फाँटमा ग्रेगानको थुप्रो भरिएको छ । पसिना र रगत बगाएर रोपेको खेत बाढीको आतङ्कले बगरमा परिणत भएपछि उहाँलाई छट्पटि भईरहेको छ । भोक निन्द्रा सबै हरेको छ । ‘अब वर्षभरी के खाने ? बगरको थुप्रो हटाएर फेरि पहिलाको जस्तै रोप्न मिल्ने कसरी बनाउने ? यही चिन्ताले मन पोलेको छ,’ पौडेलले सुनाउनुभयो ।
मान्द्रेफाँटमा बाढीले सोत्तर पारेको धान खेतमा भेटिनुभएकी सूचना विकको गहँभरी आँसु देखिन्थ्यो । अर्कैको खेतमा अधियाँ रोपेको धान । भकारीमा थन्क्याउने बेला खोलाले बगर थुपारेको धेरै बेर उहाँले नियाल्नै सक्नुभएन । मुरी उब्जाउने लक्ष्यले मानो रोपेको धान मुठ्ठी पनि भकारीमा राख्न नपाउदा परिवारको पेट कसरी भर्ने चिन्ताले भयवित बनायो सायद उहाँलाई । ‘दुःख गरेर खेत रोपियो, गोडियो, किनेर मल हालियो । थन्क्याउने बेलामा यस्तो भयो,’ उहाँले सुनाउनुभयो । ‘यत्रो क्षति भएको छ, कतैबाट केही पाईएला र ?’, राहतको अपेक्षा गर्दै उहाँको प्रश्न थियो ।
मान्द्रेफाँटका गह्राहरुमा बगरको थुप्रो देखिन्छ । यहाँका दुई खहरे खोला उन्मक्त भएर खेतका गह्रा–ग्रहामा चाहार्दा किसानको पसिनामा बगर थुप्रिएको हो । बगरको थुप्रोमा कहीँकतै पाकेका धानका बाल देखिन्छन् । रोपेको धान केही देखिन्न । चैते धान काटेर असारे रोप्न व्याडमा राखिएको बीउ पनि बाढीले पुरेको छ । बाढी हटाएर कसरी फेरि रोपाइँ गर्ने धेरै किसान यही सोचिरहेका छन् ।
मान्द्रेफाँटमा जस्तै शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर १० र ८ का अधिकांश फाँटहरुमा बाढीले ठूलो क्षति पु¥याएको छ । बाढीले धान खेतमा पु¥याएको क्षतिबारे वडा कार्यालयले अनुगमन र तथ्याङ्क सङ्कलन थालेको जनाएका छन् ।
एक हजार पाँच सय रोपनी क्षेत्रफलमा लगाइएको धान खेतमा पूर्ण रुपमा क्षति भएको शुक्लागण्डकी नगरपालिकाको अनुमान छ । कृषि शाखा प्रमुख नवराज पण्डित भन्नुहुन्छ, ‘क्षतिको विवरण सङ्कलन हुदैछ । यो भन्दा बढी पनि क्षति भएको हुन सक्छ ।’ क्षतिको विवरण सङ्कलन भएपछि किसानलाई राहतको लागी प्रदेश सरकारसंग सिफारिस गर्ने पण्डितले बताए ।
तनहुँको शुक्लागण्डकीसँगै म्याग्दे गाउँपालिकाको फाँटहरुमा लगाइएको धान खेतीमा पनि ठूलो क्षति पुगेको छ । कतै धान डुबेका छन् । कतै बगर थुप्रिएको छ । व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिकामा पनि धान खेतीमा क्षति पुगेको जनाईएको छ ।
गत वर्ष पनि जिल्लामा बाढीले धानखेतीमा ठूलो क्षति पु¥याएको थियो । कृषि ज्ञान केन्द्रका तनहुँका अनुसार गत वर्ष जिल्लाका झन्डै १३ हेक्टर क्षेत्रफलमा लगाईएको धान खेतीमा क्षति भएको थियो । यसपाली असारमै आएको बाढीले कति क्षति पुगेको यकिन विवरण प्राप्त नभएको ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । स्थानीय तहसँगको समन्वयमा क्षतिको विवरण सङ्कलन भइरहेको उहाँले बताउनुभयो ।
कृषि बीमा निशुल्क हुने व्यवस्था भएतापनि किसान आकर्षित नहँुदा वर्षेनी ठूलो क्षति व्यहोर्नुपरेको उहाँले बताउनुभयो । ‘कृषि बीमा गर्दा एक रुपैयाँ लाग्दैन् । शतप्रतिशत अनुदानको व्यवस्था छ । तैपनि किसान आकर्षित भएको देखिदैन,’ उहाँले भन्नुभयो ।