दमाैली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–थर्पु सडकखण्ड अवरुद्ध भएको छ । अविरल वर्षासँगै खोला बढेर गेग्रान आएपछि राजमार्ग अवरुद्ध भएको हो ।
म्याग्दे गाउँपालिकास्थित निर्मलवस्तीमा खोला बढेर गेग्रान आएपछि आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार गेग्रान हटाएर राजमार्ग सुचारु गराउन प्रयास भइरहेको छ ।
यसैगरी पहिरोले बन्दीपुर–डुम्रे सडकखण्ड पनि अवरुद्ध भएको छ । गत बुधबारको पहिरोले अवरुद्ध भएको सडक केही दिन अगाडी सुचारु भएपनि पुनः अवरुद्ध भएको हो । गत बुधबार परेको वर्षासँगै आएको पहिराले जिल्लाका अधिकांश ग्रामीण भेगका सडक अवरुद्ध छन् ।
जिल्लाका दश वटै पालिका बाढीपहिराबाट प्रभावित छन् । सबै पालिकामा ग्रामीण सडक अवरुद्ध हुँदा सर्वसाधारण मारमा परेका छन् ।
फाइल फाेटाे