अग्लो ढुङ्गा सिङ्गारेर चिटिक्कको पार्क (फाेटाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अग्लो ढुङ्गा सिङ्गारेर चिटिक्कको पार्क (फाेटाे सहित)

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०७८, आईतवार

    दुलेगाैडा : घाङ्च ल्हुम भनेको मगर भाषामा अग्लोे ढुङ्गा हो । तनहुँको भिमाद नगरपालिका–९ मोहोरियाको जङ्गलमा अग्ला ढुङ्गा परापूर्व कालदेखि नै यथेष्ट थिए । झट्ट हेर्दा आकर्षक देखिने चुच्चे अग्ला ढुङ्गा ढुङ्गामै सीमित थिए । तर, अहिले तिनै ढुङ्गालाई सिङारेर चिटिक्कको पार्क बनाइउको छ ।

    जङ्गलमा वेवारिसे ढुङ्गा सिङ्गारिएला र चिटिक्कको पार्क बन्ला भन्ने कल्पना समेत नभएको बाबुराम राना बताउँछन् । वडा सदस्य समेत रहेका राना भन्छन्, ‘जङ्गलको बीचमा थियो । परार साल जङ्गल फाँडेर देखिने बनायौ । अहिले पार्क बनेको छ । यस्तो राम्रो पार्क बन्ला भनेर कसैले चिताएका थिएनौँ ।’

    यहाँ पार्क बन्नुको श्रेय गाउँलेले गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङलाई दिन्छन् । मन्त्रीकै वडामा पर्छ मोहोरियाको घाङ्च ल्हुम । कार्यक्रममा सहभागी हुन आउँदा त्यो ढुङ्गा देखेका उनले ढुङ्गालाई सिङ्गार्दा पर्यटकीय गन्तव्य बन्ने लक्षण देखेपछि पहलकदमी थालेका थिए ।

    गण्डकी प्रदेश सरकार मातहतको डिभिजन वन कार्यालय तनहुँले गत आर्थिक वर्षको बजेटबाट पार्क बनाएको हो । २० लाख रुपैयाँको लगानीमा पार्क बनाएको कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । त्यसमा स्थानीयले १० प्रतिशत लागत साझेदारी गरेका छन् ।

    पार्कमा चराको गुँड बनाइएको छ । ढुङ्गाको खोपिल्टोमा चराचुरुङ्गीले पानी पिउन मिल्ने गरी सानो पोखरी, चराको चुच्चोबाट पानीको फोहोरा झार्ने संरचना निर्माण गरिएको छ । घाङ्च ल्हुम आसपास ढुङ्गाले चिनेर चिटिक्क पारिएको छ । पैदल मार्ग बनाइएको छ । चराचुरुङ्गी आकर्षित गर्न चेरीको बिरुवा रोपिएको छ ।

    अग्ला चुच्चे ढुङ्गालाई सिङ्गारेर बनाइएको पार्कले पर्यटकलाई लोभ्याउने छनक देखाएको छ । “प्राकृतिक हिसाबले ढुङ्गा आफँैमा आर्कषक थियो । यसैलाई व्यवस्थित गर्दै चरालाई आकर्षित गर्ने गरी पार्क बनाएका छौँ,” काफ्लेले भने ।

    पार्कलाई सही उपयोग गर्ने सके स्थानीयको आयआर्जनको स्रोत बन्न सक्ने उनको भनाई छ । उनी भन्छन्, “त्यहाँको बस्ती पिछडिएको छ । पहिले त स्थानीय उत्पादन बढाउन आवश्यक छ । पार्कलाई पर्यटनको गन्तव्य बनाउने र आउने पर्यटकलाई स्थानीय उत्पादन बेच्ने वातावरण बनेमा रोजगारीसँगै आत्मानिर्भर बन्न सघाउँछ ।’ पार्कको अवधारणालाई मूर्त रुप दिन स्थानीय सरकारले लगानी गर्नुपर्ने उनले बताए ।

    यही वडामा रहेको चमेरो गुफामा चमेरो संरक्षणका लागि कार्यालयले चमेरो अवलोकन विन्दु बनाएको छ । चमेरो हेर्नलाई गुफाभित्र पस्ने प्रवृत्तिले प्रभाव पारेको थियो । चमेरो लोप हुन नदिनलाई गुफाभित्रै पस्न नमिल्ने तर अवलोकन गर्न मिल्नेगरी संरचना बनाइएको उनले बताए ।

    चमेरो गुफाबाट मोहोरियाको घाङ्च ल्हुम जोड्नलाई रेलिङ सहितको सिँढी बनाइएको छ । गत वर्ष विनियोजित २० लाख रुपैयाँ बजेटले चार सय मिटर रेलिङ सहितको सिँढी र चमेरो अवलोकन विन्दु निर्माण भएको हो ।

    प्रसिद्ध चार तले धन्धुर सिद्ध गुफासँगै रहेको चमेरो गुफादेखि मोहोरियासम्म पदमार्ग बनाउन थालेको वडाध्यक्ष इमानबहादुर थापाले बताए । निकट भविष्यमा सिद्धगुफा, चमेरेगुफा, मोहोरियाका घाङचलुह्म, पाइमीको भ्युटावर, इलुङ झरना हुदै पाथर्दी सामुदायिक होमस्टेलाई जोडेर फूलको बगान सहितको पदमार्ग बनाउने योजना रहेको उनले जानकारी दिए ।

    “एक दिने पदयात्राका लागि यी गन्तव्य उपयुक्त छन्,” उनले भने, “पूर्वाधार थप र प्रबद्र्धनमा अब हाम्रो ध्यान हुनेछ ।’ पाथर्दी गाउँ बोयर बाख्राको पकेट क्षेत्र हो । वडावासीको जीवनस्तर पर्यटन, कृषि र पशुपालनबाट उकास्ने ध्येयमा रहको वडाध्यक्ष थापाले बताए ।