तनहुँमा चार महिनापछि खुले विद्यालय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा चार महिनापछि खुले विद्यालय

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७८, बिहीबार

    दुलेगौडा : कोरोना संक्रमणको दोस्रो लहरको जोखिम बढेसँगै बन्द भएका तनहुँका विद्यालय खुल्न थालेका छन् । दोस्रो लहरको जोखिमले गत वैशाखदेखि विद्यालय बन्द थिए । शहरका विद्यालयमा अनालाइन कक्षा निरन्तर चलेपनि गाउँका विद्यार्थी पढाईबाट वञ्चित बनेकोमा चार महिनापछि बल्ल विद्यालयमा पुगेर पढ्न पाएका छन् ।

    जिल्लाका १० मध्ये पाँच स्थानीय तहले भौतिक रुपमै कक्षामा विद्यार्थी राखेर पठनपाठन थालेका हुन् । व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाले विद्यालय खोलेका छन् ।

    स्थानीय तहले विद्यालय खोलेर पठनपाठन शुरु गर्न निर्देशन दिएपछि आईतबारदेखि विद्यालय खुले । अधिकांश विद्यालयले मंगलबारदेखी विद्यार्थी बोलाएर कक्षा चलाएका हुन् ।

    स्वास्थ्यको मापदण्ड पुर्ण रुपमा अपनाएर कक्षा चलाएको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित तालबेसी माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुव वाग्लेले जानकारी दिए । ‘विद्यार्थी विद्यालय छिर्ने बेलामा ज्वरो नाप्छौँ । मास्क अनिवार्य गरिएको छ । विद्यार्थीले घरबाट नलाइकन आएमा विद्यालयले मास्क दिन्छ । सेनिटाईजर लगाएपछि मात्र कक्षाकोठामा प्रवेश गर्र्न दिएका छौँ’, वाग्लेले भने ।

    कक्षामा एउटा बेन्चमा दुई जना मात्र विद्यार्थी राख्ने गरेको उनी बताउँछन् । कक्षामा २५ जना बढी राखिएको छैन् । १–५ का विद्यार्थीलाई विहान १० बजेदेखी १ बजेसम्म र ६–१० का विद्यार्थीलाई दिउँसो १ देखी ४ बजेसम्म आलोपालो गरेर विद्यालय चलाएको जनाईएको छ । तालबेसीले अपनाएको यही मोडललाई जिल्लामा निषेधाज्ञाकै बेला खुलेका सबै विद्यालयले अपनाएका छन् ।

    शुक्लागण्डकी नगरपालिकामा विद्यालय खुलेपनि पृथ्वी राजमार्गसँग जोडिएका बजार क्षेत्रका झण्डै आधा दर्जन विद्यालय बन्द छन् । कोरोनाको जोखिम कायम रहेकाले बजार क्षेत्रका विद्यालय बन्द रहेको शिक्षा शाखा प्रमुख नवराज चापागाईले उल्लेख गरे । उनी भन्छन्, ‘विद्यार्थी धेरै स्थानबाट आउने भएकाले संक्रमणको जोखिम छ । बजार क्षेत्रमा संक्रमितको संख्या पनि धेरै छ, त्यसैले अहिलेलाई बन्द गर्न भनेका हौँ ।’ सम्भव भएका विद्यालयलाई भर्चुअल कक्षा चलाउन जोडबल गरेको चापागाईको भनाई छ ।

    ग्रामीण भेगमा पर्ने घिरिङ गाउँपालिकाले साउनको शुरुवातदेखि नै विद्यालय सञ्चालन गरेको थियो । असार महिनामा भर्ना अभियान चलाएर साउनबाट विद्यालय खोलिएको हो । कोरोना संक्रमणको कम जोखिम भएका विद्यालय खुलाएर पठनपाठन जारी राखेको शिक्षा शाखा प्रमुख निर्मला कुवँरले बताइन् । ‘जहाँ विरामी देखिन्छन् त्यहाँ विद्यालय बन्द गर्यौँ । जोखिम नभएका विद्यालयमा निरन्तर पढाई चल्यो । यसैगरी साउनदेखी विद्यालय चलाएका छौँ’, उनले भनिन् ।

    विद्यालय नखुलेका स्थानीय तहमा पनि विद्यालयले खोल्ने अनुमति मागी रहेका छन् । ‘विशेष त निजी विद्यालय सञ्चालकले अनुमति मागिरहेका छन् । कार्यपालिकाले आइतबारदेखि विद्यालय खोल्ने तयारी थालेका छौ’, भिमाद नगरपालिकाका स्रोत व्यक्ति केशवराज वाग्लेले भने । सबै विद्यालयमा स्वास्थ्य सामग्री पुर्याइसकेको उनको दाबी छ । स्थानीय तहले विद्यालय खुलाउने अनुमति नदिएतापनि गाउँतिरका एकाध विद्यालय भने अहिले खुलिरहेका छन् ।

    स्मार्ट लकडाउन कार्यविधी अनुसार स्थानीय तहले विद्यालय खुलाएको दाबी गरेपनि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले भने स्वीकृति दिएको छैन् । केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी सागर अचार्यले बुधबारसम्म कसैलाई पनि विद्यालय खोल्ने स्वीकृति नदिएको बताए । ‘कोरोनाको जोखिमै रहेकाले विद्यालय खोल्ने स्विकृती दिएका छैनौँ । केही घटना घटेमा स्थानीय तहले नै जिम्मेवारी लिनुपर्छ’, उनले भने ।