उद्गमथलोले बिर्सदै कौराहाको मौलिकता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    उद्गमथलोले बिर्सदै कौराहाको मौलिकता

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०७८, शुक्रबार

    दुलेगाैडा : ल्वाङ, सुकमेल, चुरोट सहितको चिठ्ठी पछ्यौरीमा बेरेर मगर समुदायका तरुनीले अर्को गाउँका तन्नेरीलाई निम्तो पठाउँछन् । निम्तो स्विकारेका तन्नेरीहरु कमिज, भाङ्ग्रा, कछाड र टोपीमा ठाटिएर आईपुग्छन् । मखमलको चोली, छिटको गुन्युँ, कम्मरमा पहेँलो÷निलो रंगो पटुका, गलामा कण्ठी, शिरमा शिरफुल र शिरबन्दीमा चिटिक्क परेर सजिन्छन् तरुनी ।

    तन्नेरीले खैँजेडीको तालमा सामुहिक स्वर मिलाउँदै कौराहा गाउँछन् । तरुनीहरुसँग कम्मर मर्काउदै खुट्टाको ताल मिलाउदै नाच्छन् । साँझपख सुरु भएको कौराहाले रात छर्लङ्ग पार्छ । विहानपख सुरु भए साँझसम्म पनि कौराहाको रौनक रहन्छ । छुट्टिने बेलामा निम्तो गर्ने गाउँमा खानपान हुन्छ । खानपानको खर्चलाई आँकलन गर्दै तन्नेरीहरुले पैसा उठाएर दिन्छन् । र फर्कन्छन् आफ्नै गाउँ ।

    तनहुँको ऋषिङ उदग्मथलो भनिएको मगर समुदायमा प्रचलित कौराहाको यस्तो श्रव्यदृश्य देख्न र सुन्न मुस्किल छ । अघिल्लो पुस्ता यहीँ माहोलमा सामेल भई रमाए, कौराहाको मौलिकतालाई जोगाए । संगीतिक बजारमा समेत आफ्नो पहिचान स्थापित गरेको कौराहाको मौलिकतालाई उद्गमथलोमै पछिल्लो पुस्ताले बिर्सदैछ ।

    एक त पछिल्लो समय विरलै नाचगान हुन्छ कौराहा । अर्कोतर्फ पहिलाको जस्तै दिन रात गाल्ने गरेर नाचिदैन् । मुख्य कुरो त गाउँमा युवायुवती कमै छन् । गाउँबस्ती रित्तो हुनु पनि संस्कार, संस्कृति र मौलिकता लोपोन्मुख हुनुको प्रमुख कारण हो ।

    युवा अवस्था हुदाँको जस्तो कौराहाको मौलिकतासँगै रौनकता अहिले कहीँकतै नदेखेको ऋषिङ दुकुडाँडाकाका दानबहादुर आले बताउँछन् । अहिलेको पुस्तामा कौराहा कसरी नाच्ने, गाउने, ताल मिलाउनेबारे ज्ञानको कमी भएको उनी बताउँछन् । आदिवासी मगरमा प्रचलित रोधी र कौराहा पुस्तकका लेखक आले भन्छन्, ‘युवा पुस्तामा कौराहाको मौलिकता कसरी हस्तानतरण गर्ने भन्ने चिन्ताको बिषय बनेको छ । गाउँका युवा युवती कोही पढ्न बजार गए । कोही परदेशमा छन् । कस्ले सिक्ने ? गाउँमा भएकाहरुको अभ्यास नै छैन् । बुढापाकाले कष्टरपुर्ण ढंगले धान्ने काम मात्रै भएको छ कौराहा ।’

    उनका अनुसार पहिला गाउँ–गाउँमा रोधी घर थिए । दशैदेखि सुरुवात गरेर जेठको दसहरासम्म धुमधामले कौराहा नाचगान हुन्थ्यो । वैशाखे पूर्णिमाको बेला त कौराहाको रौनक उधुम हुन्थ्यो । गाउँ–गाउँमा कौराहा गुञ्जिन्थ्यो । नाचगानको माहोल थियो । अहिले रोधघर नै हरायो । कहिलेकाँही मात्र कौराहा गाउने नाच्ने गरेको उनी सुनाउँछन् । विशेष कार्यक्रम भएको बखतमा मात्रै कौराहा नाचगान हुने गरेको आलेले बताए । छोटो समय मात्र नाचगान हुने भएकाले मौलिकता समेट्न मुस्किल पर्ने उनको तर्क छ ।

    कौराहा सामूहिक नृत्य र गायन हो । एक्लै गाउन र नाच्न सम्भव छैन् । कौराहा सुरुमा देवीदेवता सम्झिएको अन्तराबाट सुरु हुन्छ ।
    यो गाउँको देवी देउता चन्डी र भुयाँरी
    हामरो शिर रक्षे गरन
    यस्तै शब्दलाई लामो भाकामा ४ पटकसम्म दोहो¥याईन्छ । दुई पटक बिसाउने र फेरी दुई पटक उठाउने । त्यसपछि बल्ल अन्तरा पुरा गरिन्छ ।
    घुम्दै फिर्दै आको हामी पर्छौ तिम्रै शरण
    हामरो शिर रक्षे गरन

    देवीदेवतालाई सम्झिएपछि विस्तारै गीतबाटै चिनजानका कुरा हुन्छन् । जिस्कने, ख्याल ठट्टा, माया पिरती लाउने कुरा हुदैँ जिवनका भोगाई पनि गीतमा समेटिन्छ । अन्तमा विछोडको गीत गाएर छुट्टिन्छन् तन्नेरी र तरुनीहरु ।
    हे निष्ठुरी मायालु छोडी गयो नभन
    छुटनी बेलैमा के दिन्छौँ नानी सम्झना

    कौराहाको एक अन्तरा पूरा गर्न झण्डै आधा घण्टा समय लाग्दछ । कौराहा लामो भाका हालेर गाईन्छ । मेला, महोत्सव, साँस्कृतिक कार्यक्रममा पनि कौराहा गाउने नाच्ने गरिन्छ । यस्ता कार्यक्रममा प्रस्तुत कौराहाले संस्कृति चिनाउन सघाउ पु¥याएपनि मौलिकता भने उतिसारो झल्कदैन ।

    सांगीतिक बजारमा लोक गीत अन्र्तगत रेर्कड गरिएका कौराहा गीतहरु छ्यापछ्याप्ती छन् । ती गीतले कौराहालाई चिनाएपनि मौलिकता प्रस्तुत गर्न नसकेको ऋषिङ्गे कौराहा गायक पदम थापा मगर बताउँछन् । ‘रेर्कड गरिएको कौराहा ५÷७ मिनेटमै सकिन्छ । मौलिक कौराहाको एउटै टुक्का गाउन लगभग आधा घण्टा समय लाग्दछ । त्यसैले रेर्कड गरिएका कौराहामा त्यति मौलिकता पाइँदैन,’ उनले भने । सांगीतिक बजारको कौराहामा माया प्रेमका कुरा हावी भएको उनी स्वीकार्छन् ।

    कौराहा तनहुँसँगै आसपासका जिल्ला कास्की, स्याङ्जा, लमजुङ, गोरखा, नवलपुर, चितवनमा पनि प्रचलित संस्कृति हो । यी जिल्लाका मगर समुदायमा प्रचलित मानिएको कौराहा पछिल्लो समय देशभरका आदिवासी जनजाति समुदायले अंगालेका छन् । ऋषिङको कोटदरबारबाट करिब अढाई सय बर्ष अगाडी कौराहको सुरुवात भएको जानकारहरु बताउँछन् । कानराहबाट अप्रभंस भई कौराहा भयो । अझै कतिपयले कौरा, कौडा पनि भन्छन् ।

    पछिल्लो पुस्ताले कौराहाको मौलिकतालाई भुल्दै गएपछि मौलिक कौराहा संरक्षण समिति नेपालले तीन बर्ष अगाडी ऋषिङकै माझकोट र आर्थथोकमा छायांकन गरी डकुमेन्ट्री निर्माण गरेको छ । देश विदेशमा डकुमेन्ट्रीको च्यारिटी शो मार्फत प्रर्दशन गरिएको छ । विदेशमा भएका नेपालीलाई समेत डकुमेन्ट्रीले कौराहाबारे जानकार बनाएको छ ।

    ‘श्रव्य र दृश्य कैद गरेर संरक्षण स्वरुप डकुमेन्ट्री बनाएका हौँ,” समिति अध्यक्ष हर्क आले बताउँछन् । उनका अनुसार समितिले संरक्षणका निम्ति पाँच वर्ष अगाडी विज्ञ भेला गराएर तनहुँको दमौलीमा राष्ट्रिय कौराहा सम्मेलन गरेको थियो । जिल्ला जिल्लामा कौराहा नृत्य गर्ने समुह गठन गरेको आलेले जानकारी दिए । सञ्चारको पनि कौराहा संरक्षणमा भुमिका रहने भएकाले कौराहाबारे प्रचारप्रसार गर्ने पत्रकारलाई वर्षेनी कौराहा पत्रकारिता पुरस्कारद्वारा सम्मान गर्दै आईरहेको समितिले जनाएको छ ।

    तनहुँमा कौराहा संरक्षण गर्न मगर समुदायसँग सम्बन्धित संघसंस्थाले बेलाबखतमा कौराहा प्रतियोगिता आयोजना गर्ने गरेका थिए । पछिल्लो दुई बर्ष यता भने कोरोना संक्रमणले रोकिदिएको छ ।

    कौराहाको मौलिकता जोगाउनलाई उद्गमथलो मानिएको ऋषिङ गाउँपालिकाले पनि चासो लिएको उपाध्यक्ष गिनुमाया थापाको दाबी छ । उनी भन्छिन्, ‘मोबाईल, टिभी, साउण्ड सिस्टम आएपछि आफैँले गाउन र बजाउनलाई बिर्सिए जस्तो छ । देखासिकी बढ्यो । अबको पुस्तलाई कौराहाबारे सिकाउन जरुरी छ ।’ चालु आर्थिक बर्षमा गाउँपालिकाले संस्कृति संरक्षणमा दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिईन् । यो बजेटले कौराहा संरक्षणलाई प्राथमिकता दिने उनको भनाई छ ।

    डकुमेन्ट्री कौराहा निर्माणमा पनि एक लाख रुपैयाँ उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ । युवा पुस्ताको आकर्षण बढाउन गाउँपालिकाले वडास्तरीय कौराहा प्रतियोगिता समेत गरेको उपाध्यक्ष थापाले बताईन् । युवा क्लबसंग पनि सहकार्य गरेको थापाले उल्लेख गरिन् । कौराहाको मौलिकतालाई संरक्षण गरेको आगामी पुस्तालाई जोगाउन युवापुस्था अग्रसर हुन आवश्यक देखिन्छ ।