कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने रामचन्द्र पोखरेलको घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने रामचन्द्र पोखरेलको घोषणा

    खबरपुञ्ज संवाददाता

    २० मंसिर २०७८, मंगलवार

    दमाैली : संविधानसभा सदस्य रामचन्द्र पोखरेलले नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । गृहजिल्ला तनहुँको दमौलीमा मङ्गलबार पत्रकार सम्मेलन गर्दै पोखरेलले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित पोखरेलले सबैको भावना र सल्लाह अनुसार केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए । विगतमा पटक–पटक केन्द्रीय समितिमा जाने प्रयास गरेपनि वरिष्ठ नेताहरुको आग्रहमा आफूले उम्मेदवारी नदिएको बताउँदै पोखरेलले यस पटक जित र हारको परवाह नगरी उम्मेदवारी दिने बताए ।

    “दशौं महाधिवेशनमा गिरीजाप्रसाद कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेलको आग्रहमा उम्मेदवारी फिर्ता लिएँ, त्यसपछिका महाधिवेशनमा पनि नेताहरुको आग्रहमा उम्मेदवार बनिनँ,” उनले भने, “यसपटक धेरै साथीहरुले केन्द्रीय नेतृत्वमा जान आग्रह गर्नुभएको छ ।”

    नेपाली काङ्ग्रेस केन्द्रीय समितिको मुख्य सचिवको रुपमा काम गरिसकेकाले धेरै अनुभव प्राप्त भएको पोखरेलले बताए । “मेरो उम्मेदवारी बारे वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशाङ्क कोइरालालाई पनि जानकारी गराइसकेको छु, यस पटक त्याग गर्नुपर्ने अवस्था आउनेछैन,” उनले भने, “मलाई चिन्ने र बुझ्ने सबैले मत दिनेमा ढुक्क छु ।”

    विसं २०१७ सालमा सम्पन्न सप्तम महाधिवेशन र २०४८ सालदेखि १४ औं महाधिवेशनसम्मको यात्रामा सबैको अमूल्य साथ र सहयोग रहेको बताउँदै पोखरेलले केन्द्रीय सदस्यमा विजयी हुनेमा ढुक्क रहेको बताए ।

    जिल्ला विकास समितिको पूर्व सभापति रहनुभएका पोखरेल लामो समय निर्मल माध्यमिक विद्यालयको प्रधानाध्यापक रहेका थिए । पोखरेले जिल्ला विकास समिति महासङ्घका संस्थापक महासचिव समेत हुन् । काङ्ग्रेसको अधिवेशन मङ्सिर २४ गतेदेखि काठमाडौमा हुँदैछ ।