दुलेगौँडा : ऋषिङ गाउँपालिकाको आयोजनामा जारी दोस्रो पालिकास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगितामा शुक्लागण्डकी नगरपालिका फाइनल प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा भिमाद नगरपालिकालाई पराजित गर्दै शुक्लागण्डकीले फाइनल यात्रा तय गरेको हो । भिमादलाई शुक्लागण्डकीले ३–१ को सेटमा पराजित गरेको शुक्लागण्डकीका प्रशिक्षक टुकबहादुर गुरुङ (प्रविण)ले जानकारी दिए ।
पहिलो सेटमा भिमादले शुक्लागण्डकीलाई २५–१७ को फराकिलो अन्तरमा पराजित गर्न सफल भयो । दोस्रो सेटबाट खेलमा सुधार गरेका शुक्लागण्डकीका खेलाडीले लगातार तीन सेट आफ्नो पक्षमा पार्न सफल भए । दोस्रो, तेस्रो र चौथो सेट क्रमश ः २५–१९, २५–२१ र २५–२३ को स्कोरमा विजयी हुदैँ भिमादको फाइनलमा पुग्ने चाहना पुरा हुन दिएन शुक्लागण्डकीले ।
फाइनलमा शुक्लागण्डकीले बुधबार स्याङजाको बिरुवा गाउँपालिका वा बाग्लुङको गलकोट नगरपालिका मध्ये एकसँग भिड्नेछ । दोस्रो सेमिफाइनलमा बुधबार बिरुवा र गल्कोट भिड्ने ऋषिङका प्रवक्ता विजय दरैले जानकारी दिए । शुक्लागण्डकी गत वर्ष भएको पहिलो संस्करणको ऋषिङ अध्यक्ष कपको उपाधि विजेता हो ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथोले क्रमशः एक लाख ४० हजार रुपैयाँ, एक लाख रुपैयाँ, ६० हजार रुपैयाँ र ३० हजार रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई पनि नगद सहित पुरस्कृति गरिनेछ ।
शनिबारदेखि सुरु प्रतियोगितामा तनहुँको व्यास नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, घिरिङ गाउँपालिका, स्याङ्जाको बिरुवा गाउँपालिका, पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका, कास्कीको मादी गाउँपालिका, रुपाकोट गाउँपालिका, बागलुङको गलकोट नगरपालिका, नवलपुरको बौदीकाली गाउँपालिका गरी १६ टिमले सहभागिता जनाएका छन् ।