थर्पु । म्याग्दे गाउँपालिका–१ का महिलालाई उद्यमशिल बनाउन गुडिया तथा सजावटका सामाग्री निर्माण सम्बन्धी तालिम दिईएको छ । गरिबी निवारण तथा लघुउद्यम विकास(मेड्पा) कार्यक्रम अन्तर्गत महिलालाई उद्यमी बनाउने उद्धेश्यले ११ दिने तालिम दिईएको हो ।
तालिमको आइतबार समापन गरिएको छ । तालिम समापन कार्यक्रममा बोल्दै म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाले सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गरिन् । गुडिया र घरायसी सजावटका सामाग्रीको बजारमा माग उच्च रहेकाले उद्यमी बन्नतर्फ लाग्न उनको जोड छ । उनले अगाडी थप्दै भनिन्, ‘तपाईहरु उद्यमी बन्नुहोस् ।
उद्योगको क्षमता र तपाईको लगनशिलता हेरेर गाउँपालिकाले सहयोग गर्नेछ ।’ वडाध्यक्ष शिवशरण वाग्लेले एक पटक तालिम लिएकालाई गाउँपालिकाले अर्को तालिममा सहभागि नगराउने नीति लिएको बताउँदै सिकेको सिपको सही सदुपयोग हुनुपर्ने बताए ।
कार्यपालिका सदस्य बद्रिका घिमिरेले सिकेको सिपलाई फुर्सदको समयमा सदुपयोग गर्दै आत्मानिर्भर र स्वभिमानी बन्नुपर्ने उल्लेख गरिन् । गाउँपालिकाका लेखा अधिकृत नवराज पोखरेलले सिप सिक्न प्रतिष्पर्धा गर्ने तर प्रयोग नहुने पाईएको बताए । उद्योग विकास शाखा प्रमुख प्रदिप न्यौपानेले सिकेको सिप प्रयोग गर्दै उद्यमशिल बनेको खण्डमा गाउँपालिकाले गरेको लगानीको प्रतिफल प्राप्त हुने बताए । गुणादीमा सञ्चालन गरिएको तालिममा १८ जना महिलाको सहभागिता रहेको थियो । वडा कार्यालयले उद्यमशिल बन्न चाहाने महिलालाई तालिमका लागि छनोट गरेको हो । तालिममा गुडिया, कुसन, झुमरसँगै घर सजावटका विभिन्न सामाग्री बनाउन सिकाईएको छ ।