दमाैली । नेकपा एमाले तनहुँको नवौं अधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि शनिबार बेलुकीदेखि निर्वाचन प्रक्रिया सुरु भएको हो ।
निर्वाचन प्रक्रिया अन्तर्गत मतदाता नामावली प्रकाशन भएको छ । नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास गरिने र सर्वसम्मत नभए आइतबार बिहानदेखि मतदान गर्ने तयारी गरिएको छ ।
अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत हुने सम्भावना छ । उपाध्यक्ष, सचिव, उपसचिव र सदस्य पदमा भने आंकाक्षी धेरै छन् ।
अधिवेशनले अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिव चयन गर्नेछन् । प्रत्येक नगरपालिकाबाट पाँच खुला र दुई महिला गरी २८, प्रत्येक गाउँपालिकाबाट तीन खुल्ला र दुई महिला गरी ३०, अल्पसंख्यकको तर्फबाट दुई खुला र एक महिला गरी तीन, मजदुरबाट दुई खुला र एक महिला गरी तीन, दलितबाट तीन खुला र दुई महिला गरी पाँच, आदिवासी जनजातिबाट दुई खुल्ला र एक महिला गरी तीन, अपांगबाट एक खुला र एक महिला गरी दुई सदस्य निर्वाचित गर्नेछ । खुल्लातर्फ १७ खुल्ला र ९ महिला गरी २६ जना निर्वाचित हुनेछन् ।
बिहानदेखि सुरु भएको बन्दसत्रले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित गरेको छ । अध्यक्ष केदार सिग्देलले प्रस्तुत गरेको प्रतिवेदन उपर प्रतिनिधिले समूह बनाएर छलफल तथा टिप्पणी गरेका थिए ।