देवघाट । देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेला स्थगित गरिएको छ। जिल्ला प्रशासन कार्यालयमा सोमबार सम्पन्न जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन समिति (सीसीएमसी) सहितको सर्वपक्षीय बैठकले मेला बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले भौतिकरूपमा २५ जनाभन्दा बढी उपस्थित भई हुने सबै प्रकारका सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, जात्रा, महोत्सव गर्न रोक लगाउने निर्णय गरेको हो ।
देवघाटमा हुने माघे सङ्क्रान्ति मेलामा देशैभरबाट भक्तजन आउने गर्दछन् । सङ्क्रान्तिको अघिल्लो दिन त्रिशूली र कालीगण्डकी दुई नदीको सङ्गममा लिङ्गो गाडेर मेला शुभारम्भ गरिन्छ । प्रमुख जिल्ला अधिकारी तामाङले तनहुँ र नवलपरासी जिल्लासँग समन्वय गरेर मेला पूर्णरूपमा बन्द गराइने बताए ।