देवघाट क्षेत्र सिल गरिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाट क्षेत्र सिल गरिने

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    देवघाट । पवित्र तीर्थस्थल देवघाट क्षेत्र माघे सङ्क्रान्ति अवधिभर सिल गरिने भएको छ । पुस ३० गते बिहानबाट माघ १ गते बेलुकासम्म देवघाट जाने नाका सिल गर्न लागिएको हो । कोभिडको सङ्क्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले माघे सङ्क्रान्ति मेलामा रोक लगाएको छ ।

    माघे सङ्क्रातिमा छुट्टै मेला नभएर स्नानका लागि देशभर र भारतबाटसमेत भक्तजन आउने गर्दछन् । प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले छिमेकी जिल्लाका प्रशासन कार्यालयमा जानकारीका लागि पत्राचार गरिसकिएको बताए । उनले भने, “स्नानका लागि भक्तजनले दुःख नहोस् भनेर हामीले पूर्व जानकारी गराईसकेका छौं ।”

    स्थानीय प्रशासनले पूर्वी र पश्चिम नवलपरासी, तनहुँ, रुपन्देही, बारा, पर्सालगायतका जिल्लामा पत्राचारसमेत गरिसकेको छ । कसैकसैलाई स्नान गर्न पाइएला भन्ने लागेर दुःख नपाउन भन्नका लागि आवश्यक जानकारी दिने काम भएको उनले बताए । देवघाट छिर्ने नाका आँपटारी, रामनगर, ठिमुरा र देवघाटमा सुरक्षाकर्मी राखेर सिल गर्न लागेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । मेला भर्न अघिल्लो दिनबाट भक्तजन आउने गर्दछन् । अघिल्लो दिन बिहान देवघाटको वेणीमा लिङ्गो गाडेर मेलाको शुभारम्भ गरिन्छ ।

    देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेले जिल्ला प्रशासन कार्यालय चितवनको पत्रानुसार मेला बन्द गरिएको बताए । सो कार्यालयले २५ जनाभन्दा बढी भौतिक रूपमा उपस्थित भएर कार्यक्रम गर्न र मेला, महोत्सव नगर्न सूचना जारी गरेको छ ।

    कार्यकारी निर्देशक घिमिरेले मेलाको तयारी गरिएको भए पनि सङ्क्रमण बढेसँगै बन्द गर्नुपरेको बताए । देवघाटमा वृद्धवृद्धा धेरै रहेकाले बाहिरबाट आउने भक्तजनबाट सङ्क्रमण फैलिनसक्ने भन्दै कडाइ गरिएको उनले बताए । उनले भने, “देवघाटमै कल्पबास बसेकाहरूलाई भने दूरी कायम गरी स्नान गर्ने व्यवस्था गरिएको छ ।”

    समितिले २० वटा उपसमिति बनाएर मेलाको तयारी गरेको थियो । यसवर्ष ५ देखि ७ लाख भक्तजन आउने अनुमान गरिएको थियो । मकर सङ्क्रान्तिमा देवघाटमा स्नान गरेमा मोक्ष प्राप्ति हुने जनविश्वास छ । माघे सङ्क्रान्तिमा देवघाटमा देवतासमेत स्नानका लागि आउँछन् भन्ने मान्यता रहिआएको छ ।